सिङ्गापुर : एउटै नेताको प्रयासले संसारकै समृद्धशाली भएको देश

पृष्ठभूमि :
सिङ्गापुरको चर्चासँगै ली क्वान युको नाम पनि जोडिएर आउँछ । सन् १९६० सम्म संसारका गरिब मुलुकहरूको सूचीमा पर्ने सिङ्गापुरलाई ली क्वान युले संसारकै समृद्ध र वैभवशाली राष्ट्र बनाइदिए । शासकमा दृढ इच्छाशक्ति र विकासको स्पष्ट मार्गचित्र भए असम्भव केही छैन भन्ने कुरालाई लीले प्रमाणित गरेर देखाइदिए । आज सिङ्गापुरको नाम लिनासाथ सबैको मन रोमाञ्चित हुन्छ र संसारकै समृद्धशाली देश कस्तो होला भनेर स्वप्निल तरङ्गहरू मानसपटलमा नाच्न थाल्छन् । आधुनिक सिङ्गापुर विकासको एउटा सुन्दर नमुना हो । तर, सिङ्गापुर रातारात बनेका चाहिँ पक्कै होइन ।

नेपाललाई पनि सिङ्गापुरजस्तै समृद्धशाली बनाउने हो भने यहाँ पनि एकजना ली क्वान युको उदय हुन जरुरी छ तर लीको खोजी गर्दैजाँदा लेण्डुपका हातमा सत्ताको बागडोर नपुगोस् भन्ने कुरामा सचेत हुन पनि त्यत्तिकै जरुरी छ ।



सिङ्गापुरको सङ्क्षिप्त इतिहास :
सिङ्गापुर साना ठूला टापुहरू मिलेर बनेको संसारकै एक सुन्दर र रमणीय देश हो । यो दक्षिण–पूर्व एशियाको निकोबार द्विप समूहबाट १५०० किलोमिटर टाढा मलेसिया र इन्डोनेसियाको बीचमा पर्दछ । सिङ्गापुर ७ सय १० दशमलब २ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यहाँ मुख्य रूपमा चिनी, मलय र भारतीय मूलका मानिसहरू बसोबास गर्छन् । यहाँको जनसङ्ख्या ५८-५९ लाखको हाराहारी छ । सिङ्गापुरको राजधानी सिङ्गापुर नगर हो । यहाँ मुख्य रूपमा अङ्ग्रेजी भाषा बोलिन्छ भने भलय भाषा यहाँको राष्ट्रिय भाषा हो । यसका अतिरिक्त यहाँ चिनी र तमिल भाषा पनि बोलिन्छ ।

सन् १९६० भन्दा अगाडि सिङ्गापुर एउटा दरिद्र राष्ट्रका रूपमा थियो । मानिसहरूलाई बस्नका लागि घरसमेत थिएन । यो एउटा झोपडपट्टी जस्तो थियो र यसको नियन्त्रण विभिन्न ग्याङहरूले गर्ने गर्थे । यहाँ न राम्रा शैक्षिक प्रतिष्ठानहरू थिए न त शिक्षित व्यक्तिहरू नै । सिङ्गापुरको आफ्नो गर्व गर्न लायकको प्राकृतिक स्रोत–साधन केही पनि थिएन । यहाँ खेतीयोग्य जमिनसमेत थिएन । खानेदेखि सबै कुरामा छिमेकी मुलुक मलेसियासँग भर पर्नुपथ्र्यो । तर आकारमा सानो भए पनि सिङ्गापुर आज विश्वकै समृद्धशाली र चर्चित देश बन्न पुगेको छ । अहिले सिङ्गापुरमा न गुण्डागर्दी छ, न बेरोजगारी र भ्रष्टाचार नै । बरू सिङ्गापुर अहिले संसारकै ठूलो व्यापारिक केन्द्र, भव्य क्यासिनो रिसोर्टहरू, नमुना अन्तर्राष्ट्रिय विमानस्थल र प्रख्यात बन्दरगाहका कारणबाट चिनिन्छ । सिङ्गापुर विश्वमा नवौं र एशियामा चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बनेको छ । आज धेरै अल्पविकसित देशहरू आफ्नो देश पनि सिङ्गापुर जस्तै बन्ने उदाहरण दिन्छन् तर कर्म भने त्यसअनुसार गर्ने सामथ्र्य राख्तैनन् ।

कसरी बन्यो त सिङ्गापुर संसारकै उत्कृष्ट राष्ट्र ? यस सुन्दर देशका सिल्पकार को हुन् ? के एउटै व्यक्तिको स्वप्निल परिकल्पनाले कुनै देश यति छिटो विश्वकै उदाहरणीय देश बन्न सक्छ ? यस लेखमार्फत् यिनै जिज्ञासाहरूको उत्तर खोज्ने प्रयास गरिएको छ ।

 ली क्वान युको चिनारी र उदय :
ली क्वान यु चिनियाँ आप्रवासीहरूका तेस्रो पुस्ताका सन्तान थिए । यिनको जन्म १६ सेप्टेम्बर १९२३ मा सिङ्गापुरमा भएको थियो । यिनको पालनपोषण बेलायती ढङ्गबाट (त्यसताका सिङ्गापुर बेलायतको उपनिवेशअन्तर्गत थियो) भयो । यिनका हजुरबुबा यिनलाई ‘ह्यारी ली’ भनेर सम्बोधन गर्थे । यिनी सानैदेखि जेहेन्दार थिए र पढाइमा पनि तेज थिए । यिनको शिक्षारम्भ सिङ्गापुरकै एक अङ्ग्रेजी स्कुलबाट भएको थियो । सन् १९४० मा स्कुललेभलको प्रमाणपत्र परीक्षामा यिनी सर्वोकृष्ट भए र धेरै पुरस्कारहरू हात पार्न सफल भए । पछि यिनीले बेलायतस्थित लण्डन स्कुल अफ इकोनोमिक्समा अध्ययन गरे । त्यसपछि भने उनी क्याब्रिज गए र त्यहाँ कानुनको अध्ययन गरे । क्याब्रिजको अध्ययनपछि कानुन व्यवसायी बन्ने उद्देश्यसहित यिनी सिङ्गापुर फर्केका थिए । केही समय उनले एक कानुन व्यवसायीका रूपमा काम पनि गरे तर समयले यिनलाई सिङ्गापुरका उदाहरणीय प्रधानमन्त्री बनाइदियो ।

सिङ्गापुरको राजनीतिक अवस्था र लीको योगदान :
लीले सन् १९५४ मा पीएपी अर्थात् पिपल्स एक्सन पार्टीको स्थापना गरे र उनी त्यस पार्टीको महासचिव बने । उनी पीएपीको महासचिवका रूपमा लगभग ४० वर्षसम्म रहे । सन् १९५९ मे ३० मा भएको राष्ट्रिय चुनावमा पीएपीले बहुमत ल्याउन सफल भयो अर्थात् विधानसभाका ५१ सिटमध्ये पीएपीले ४३ सिट हासिल गर्न सफल भयो । सन् १९५९ जुन ३ का दिन ली क्वान यु सिङ्गापुरका प्रथम प्रधानमन्त्री बने । ली बहुमत सरकारको प्रधानमन्त्री बनेको ४ वर्षपछि अर्थात् ३१ अगष्ट १९६३ मा सिङ्गापुरबाट बेलायतको औपनिवेशिक युगको अन्त्य गरियो । र, सिङ्गापुर एक स्वतन्त्र राष्ट्र बन्न पुग्यो । यो भारत बेलायतबाट स्वतन्त्र भएको १८ वर्षपछिको समय थियो ।

सिङ्गापुर स्वतन्त्र बन्यो तर यो देश आर्थिक, सामाजिक, राजनीतिक तथा अन्य हरेक दृष्टिले कमजोर थियो र सबै कुरा छिमेकी मुलुक मलेसियाकै भर पर्नुपथ्र्यो । अतः सिङ्गापुर स्वतन्त्र भएर पनि स्वतन्त्र अवस्थामा रहन नसक्ने अवस्था सिर्जना भएपछि सिङ्गापुरका नेताहरू सिङ्गापुरलाई मलेसियामा विलय गराउन सहमत भए । यसरी सन् १९६३ सेप्टेम्बर १६ मा सिङ्गापुरलाई मलेसियामा विलय गराइयो ।

सिङ्गापुर मलेसियामा विलय भए पनि धेरै समय टिक्न सकेन । जातीय द्वन्द्व र वैचारिक बेमेलले हिंसात्मक रूप लिएपछि सन् १९६५ अगष्ट ९ मा सिङ्गापुर मलेसियाबाट छुट्टिएर पुनः स्वतन्त्र र स्वाधीन राष्ट्र बन्यो । मलेसियाबाट अलग भएर पनि सिङ्गापुरले मलेसियासित व्यवसायिक र सैन्य सम्बन्धलाई कायम बनाइराख्यो । सिङ्गापुर परनिर्भर देश थियो । सबै कुरामा परनिर्भर भएको मुलुकलाई सही दिशाबोध गराउँदै अग्रगति प्रदान गर्न प्रधानमन्त्री लीका लागि सहज विषय थिएन ।

लीले सोचे– नेताको परीक्षा नै मुलुक सङ्कटमा परेको बेला हुने हो । अनि उनले सिङ्गापुरलाई अरूभन्दा भिन्न, आधुनिक र विशिष्ट देश बनाउने निर्णय गरे र स्वयम्ले त्यसै अनुरूपको एक गुरुयोजना बनाए । त्यस गुरुयोजनाका माध्यमबाट उनी सिङ्गापुरलाई कायापलट गर्न चाहन्थे । त्यसका लागि लीले देशका हरेक मुद्दाहरूलाई नियन्त्रणमा राख्ने निश्चय गरे । उनले आफ्ना कटु आलोचकहरूलाई जेलमा हाले, सञ्चारमाध्यमहरू तथा विदेशी प्रकाशनमा प्रतिबन्ध लगाए तथा कतिपय पत्रकारहरूलाई समेत गिरफ्तार गरे । ली ठान्दथे– विकासको मार्गमा गतिशील देशले केही स्वतन्त्रताको बलिदान दिनैपर्छ । उनले आफ्नो गुरुयोजनामा बाधक हुनसक्ने ठानेका सबैमा दमनकारी नीति अख्तियार गरे र आफूलाई आफ्नो सपना साकार पार्न क्रियाशील र गतिशील बनाइराखे । उनका कतिपय दमनकारी नीतिको आलोचना नभएको होइन, तर पनि उनी आलोचनाका डरले पछि फर्केनन् । यसैको परिणम्स्वरूप सन् १९६० मा दरिद्र रूपमा रहेको सिङ्गापुरले १९८० सम्म पुग्दा प्रतिव्यक्ति आयमा १५ गुणाले वृद्धि गर्न सफल भयो । सन् १९६५ मा प्रतिव्यक्ति आय ५०० डलर भएकोमा सन् २०१९ मा आइपुग्दा बढेर प्रतिव्यक्ति ६५ हजार २२७ डलर हुन पुग्यो ।

ली इजरायलको विकास मोडेलबाट प्रभावित थिए । उनी पनि विकासमा छलाङ मार्न चाहन्थे । त्यसका लागि उनले बहुर्राष्ट्रिय कम्पनीहरूलाई सिङ्गापुरमा स्वागत गर्ने नीति लिए । उनले चीनसँग पनि राम्रो सम्बन्ध बनाइराखे । चीन पनि लीको विकास मोडेलबाट प्रभावित थियो ।

लीको आत्मविश्वास :

मुलुकको समृद्धिको मार्गमा भ्रष्टाचार ठूलो बाधक हो भन्ने कुरामा ली स्पष्ठ थिए, अतः उनले सिङ्गापुरमा फैलिएको भ्रष्टाचारलाई खत्तम पार्ने सङ्कल्प गरे । भ्रष्टाचारविरुद्ध कडा कानुन बनाए । उनले बेरोजगारलाई रोजगारी उपलब्ध गराउन कम लागतमा आवास योजना तथा औद्योगिक कार्यक्रम आरम्भ गरे । उनले सिङ्गापुरलाई बहुसंस्कृतिवादमा आधारित एक अलग राष्ट्रको पहिचान बनाउने प्रयास गरे र अन्ततः सफल पनि भए ।

लीले परिवर्तनका लागि ठूला कुरामा मात्र होइन, ससाना कुरामा पनि ध्यान दिए । जनसंख्यालाई नियन्त्रण गर्न परिवार नियोजनको अभियानलाई प्रोत्साहन गरे । दुईभन्दा बढी सन्तान जन्माउनेलाई कर बढाइदिए । युवाशक्तिलाई प्रोत्साहन गरे । शिक्षालाई अनिवार्य र हरेक तहका जनताको पहुँचमा पुर्याउने नीति लिए । भ्रष्टाचारविरुद्ध खरो रूपमा उत्रिए । उनले नागरिकको दैनिक व्यवहारमा पनि परिवर्तन गराए । जस्तो– सबैसँग विनम्र हुन, सानो आवाजमा मात्र बोल्न, शौचालय प्रयोग गरिसकेपछि अनिवार्य रूपमा फ्लसको प्रयोग गर्न, चुइगम नखान, पर्खालहरूमा कोर्न तथा चित्रहरू बनाउन नदिन आचार संहिता बनाए । लीका यस्ता कार्यहरूले सिङ्गापुरलाई भौतिक रूपमा मात्र होइन, मानसिक र व्यवहारिक रूपमा पनि सुन्दर हुन सिकायो । देशलाई आफ्नो घरलाईजस्तै माया गर्न सिकाइयो ।

ली सन् १९५९ देखि १९९० सम्म प्रधानमन्त्री रहे । उनी विश्वमा नै लामो समयसम्म प्रधानमन्त्री हुने व्यक्तिमा गनिन्छन् । तर उनी लामो समय प्रधानमन्त्री हुने व्यक्तिको रूपमा भन्दा पनि आधुनिक सिङ्गापुरका निर्माता र आधुनिक सिङ्गापुरका एकल परिकल्पनाकारका रूपमा बढी चिनिन्छन् । उनैको योगदानले गर्दा एउटा सामान्य टापु–देश सिङ्गापुर संसारकै समृद्धशाली सिङ्गापुर बन्न सक्यो । उनले १९५९ मा प्रधानमन्त्रीको पदभार ग्रहण गर्दाको सिङ्गापुर र १९९० मा प्रधानमन्त्रीको पदभार परित्याग गर्दाको सिङ्गापुरका बीचमा तुलना नै हुनसक्तैनथ्यो । यस अवधिमा सिङ्गापुर औद्योगिक विकास, सफ्टवेयर र सेवाको विकास, मानवीय संसाधनको विकास र भ्रष्टाचारविरुद्धको कडा कार्यवाहीले संसारकै नमूना देश बन्न सक्यो । सिङ्गापुर एशिया महादेशमा हुनु र सिङ्गापुर एशियाकै अग्रणी औद्योगिक देश बन्नु आफैंमा गौरवको विषय बनेको छ । आजभोलि सिङ्गापुरलाई अमेरिकाको न्यु योर्क शहरसँग तुलना गरिन्छ । यसको श्रेयका एकमात्र हकदार ली क्वान यु नै हुन् ।

भनिन्छ, लीले सिङ्गापुरलाई समृद्धिको उचाइमा पुर्याउन तीन कुरालाई सैद्धान्तिक आधार मानेका थिए । पहिलो, म्यारिट अर्थात व्यक्तिको योग्यताका आधारमा योग्य व्यक्तिको छनौट गर्नु । दोस्रो, मुलुकमा लगानीका लागि सहज, सरल र व्यवहारिक वातावरण बनाउनु र तेस्रो, इमानदारी र अनुशासनलाई कठोरतापूर्वक पालना गर्नु । यसैको परिणाम्स्वरूप सिङ्गापुर संसारकै उदाहरणीय मुलुक बन्न पुग्यो ।

ली युगको अन्त्य :

यसरी विश्वमा सिङ्गापुरलाई सधैंका लागि जाज्वल्यमान गराउँदै सन् २०१५ मार्च २३ का दिन लीले भौतिक शरीर त्याग गरे पनि उनको योगदानले उनलाई सदैव अमर गराइरहने छ  । संसारबाट विदा लिनुअघिसम्ममा लीले दृढ इच्छाशक्ति र विकासमा अर्जुनदृष्टि भएमा कुनै पनि नेताले आफ्नो देशका लागि कतिसम्म गर्न सक्छ भन्ने व्यवहारिक सन्देश दिन सफल भए । देशप्रति निष्ठावान ९१ वर्षीय ली क्वान युको देहावसानमा विश्व नै स्तब्ध बनेको थियो ।

सम्बन्धित समाचार