क्रोएसिया र ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा, आज प्रि-क्वाटरफाइनलको अन्तिम दुई खेल हुँदै

क्रोएसिया र ब्राजिल कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको पहिलो खेलमा क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३-१ ले र ब्राजिलले दक्षिण कोरियालाई ४-१ ले पराजित गरेको हो ।

कतारको अल जानुब स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।



क्रोएसिया

क्रोएसियाका लागि निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले पेनाल्टीमा गोल गर्दा मार्को लिभाजा पेनाल्टीमा गोल गर्न असफल भएका थिए । यता जापानका ताकुमा असानोले गोल गर्दा ताकुमी मिनामिनो, माया योशिदा र कोरु मितोमाले गोल गर्न सकेनन् । क्रोएसियाका गोलकिपर डोमिनिकले उनीहरुको पेनाल्टी बचाएका थिए ।

त्यसअघि खेलको ४३ औं मिनेटमा डाईजेन माएडाले गोल गर्दै जापानलाई ग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा खेलको ५५ औं मिनेटमा क्रोएसिया इभान पेरिसिचले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याएका थिए । जितसँगै क्रोएसिया तेस्रो पटक क्वाटरफाइनलमा पुग्दा जापान भने प्रतियोगिताबाट बाहिरिएको छ । क्रोएसियाले अब ब्राजिलसँग क्वाटरफाइनलमा खेल्नेछ ।

त्यसैगरी सोमबार राति नै भएको अर्को खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको स्टेडियम ९७४ मा भएको एकतर्फी खेलमा खेलको सातौं मिनेटमा राफिन्हाको पासमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको १३ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए ।

यस्तै २९ औं मिनेटमा थियागो सिल्भाको पासमा रिचार्लिसनले गोल गर्दा ब्राजिलले ३-० ले अग्रता बनायो । यसैगरी खेलको ३६ औं मिनेटमा लुकास पाक्वेटाको गोल मार्फत पहिलो हाफमा ब्राजिल ४-० ले अघि रह्यो । त्यसपछि खेलको ७६ औं मिनेटमा दक्षिण कोरियाका पाइक सुएङ-होले एक गोल फर्काएपनि त्यो ढिलो भैसकेको थियो र खेल ब्राजिलले ४-१ ले आफ्नो पक्षमा पार्यो ।

ब्राजिल

 

अब ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ । सोमबार जापानलाई पराजित गर्दै क्रोएसिया अन्तिम आठमा प्रवेश गरिसकेको छ । दक्षिण कोरिया भने विश्वकपबाट बाहिरिएको छ ।

आज प्रि-क्वाटरफाइनलको अन्तिम दुई खेल हुँदै
कतारमा जारी फिफा विश्वकप फुटबलमा आज मंगलबार राउण्ड अफ १६ अन्तर्गतका अन्तिम दुई खेलहरु हुँदैछन् । मंगलबार हुने पहिलो खेलमा मोरक्को र स्पेनबीचको खेल मंगलबार राति नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ भने दोस्रो खेलमा राति १२:४५ बजे पोर्चुगल र स्विट्जरल्यान्डबीच हुनेछ । मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् भने पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्यान्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

 

सम्बन्धित समाचार