नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ मंसिर ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । सर्लाही, ब्रहमपुरी गाउँपालिका-६ नौकिलवा बस्ने देवशरण रायकी छोरी १० वर्षीया उषा कुमारी यादव सोही ठाउँस्थित पोखरीमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
घरबाट हराएकी उनको खोजी गर्ने क्रममा उक्त पोखरीमा शव फेला परेको हो । त्यस्तै दार्चुला, लेकम गाउँपालिका-३ राडम बस्ने ५३ वर्षीय प्रेम सिंह ऐरी सोही ठाउँस्थित महाकाली नदीको किनारमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । घरबाट सोही गाउँपालिका-३ लालीतर्फ जाँदै गरेको अवस्थामा महाकाली नदीमा खसेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लालीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
यस्तै प्युठान, ऐरावती गाउँपालिका-४ कैरन स्थित झिम्रुक खोलाको बीच भागमा सोही गाउँपालिका-५ दर्गा बस्ने १८ वर्षीया मनिषा केसी मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यता ललितपुर, ललितपुर महानगरपालिका-५ महालक्ष्मीस्थित पाटीमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ हरियाली मार्गस्थित पूर्वपश्चिम होटलको कोठामा कोहलपुर नगरपालिका-८ बस्ने २१ वर्षीय विशाल सिंह मंगलबार मृत अवस्थामा फेला परेका छन् । उक्त होटलमा सोमबार राति सिंहसमेत ४ जना बसेकोमा सिंह मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीसँगै बसेका ३ जनालाई आवश्यक सोधपुक्षका लागि नियन्त्रणमा लिएको छ ।
यसैगरी बाँके, डुडुवा गाउँपालिका-५ स्थित गोकुल सामुदायिक वन र चौरीडाँडा सामुदायिक वनको सिमानामा रहेको पानी जमेको खाल्डोमा नेपालगंज उपमहानगरपालिका- २२ पुरैनी बस्ने ६१ वर्षीय गुलाम सिंह किंगहरिया मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

