नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ मंसिर ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबियामा जारी त्रिदेशीय एकदिवसीय सिरिजको आफ्नो चौथों खेलमा नेपाल पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको हो ।
नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर ३ बलमा अलआउट हुँदै ११९ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेल ४७ रन बनाए भने सोमपाल कामीले १६ रन जोडे । त्यस्तै दीपेन्द्रसिंह ऐरीले १४ र ललित नारायण राजवंशीले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा छुन सकेनन् । स्कटल्याण्डका लागि मार्क वाट, ब्राण्डन म्याकमुलेन र सफियान सरिफले समान २-२ विकेट लिए भने क्रिस्टोफर म्याकब्रिड, क्रिस सोल र क्रिस ग्रेभिसको भागमा समान १-१ विकेट रह्यो ।
१२० रनको लक्ष्य लिएर मैदान उत्रेको स्कटल्याण्डले १६ ओभर ५ बलमा २ विकेट गुमाउँदै पूरा गर्यो । स्कटल्याण्डको लागि क्रिस्टोफर म्याकब्रिडिले अविजित रहँदै ४६ रन बनाए भने जर्ज मुन्सिले ४५ रन जोडे । यस्तै कायल कोट्जरले १६ रन बनाई आउट भए भने कप्तान रिचि बेरिङ्टन १२ रनमा अविजित रहे । नेपालका लागि गुलसन झा र दीपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए ।
प्रतियोगितामा नेपालले नामिबिया विरुद्धको पहिलो खेलमा वर्षा बाधक बन्दा अङ्क बाँडेको थियोे । दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग तीन विकेट तथा तेस्रो खेलमा नामिबियासँग ८६ रनले पराजित भएको थियो । ७ टोली सहभागी विश्वकप लिग-२ मा नेपाल २४ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ भने स्कटल्याण्डको ३२ खेलमा ४६ अंकका साथ पहिलो स्थानमा रहेको छ। यस सिरिजमा नेपाल,नामिबिया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । हारसँगै नेपालको शीर्ष तीनमा रहेर विश्वकप छनोटमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।