नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ मंसिर ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । भक्तपुर, भक्तपुर नगरपालिका-२ औद्योगिक क्षेत्रस्थित पिपलबोट चौतारामा हाल नाम, थर, वतन नखुलेकी ४० वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यस्तै कञ्चनपुर, पुनर्वास नगरपालिका-११ अमरबस्ती बस्ने ३५ वर्षीय हरि कार्की सोही ठाउँस्थित सडकमा छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता पर्वत, कुश्मा नगरपालिका-३ डाडाथोक बस्ने ४० वर्षीया कुमारी सार्की आफ्नै घरको भान्सा कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
यस्तै काभ्रे, भुम्लु गाउँपालिका-२ सिमथली टारीश्वरास्थित बारीमा हाल नाम, थर, वतन नखुलेको नवजात शिशुको शुक्रबार शव फेला परेको छ । त्यसैगरी काठमाडौं, टोखा नगरपालिका-३ मेघासिटी हाईटस्थित सार्वजनिक खुल्ला चौरमा पालको झुपडी बनाई बसेका तारकेश्वर नगरपालिका-६ लक्ष्मीटार घर हुने ६० वर्षीय राधे अछामी सोही झुपडीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी ताप्लेजुङ, आठराई त्रिवेणी गाउँपालिका-४ नेसुम बस्ने २३ वर्षीय वीर बहादुर कार्की ढोली सोही ठाउँस्थित चुली भिरबाट करिब १ सय ५० मिटर तल बिहीबार मृत अवस्थामा फेला परेका छन् । बुधबार घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । त्यस्तै कपिलवस्तु, मायादेवी गाउँपालिका-७ कर्महवा बस्ने ७६ वर्षीय राम शरण अहिर आफ्नै घर नजिक रहेको सार्वजनिक पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
गत सोमबार राति घरबाट हिँडेका उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त पोखरीमा शव फेला परेको हो । यता रामेछाप, मन्थली नगरपालिका-६ स्थित थापाचोकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५६ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

