छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । सप्तरी रुपनी गाउँपालिका-६ वीरेन्द्रबजारस्थित सडकमा स.४ प १६३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार शम्भुनाथ नगरपालिका-१ खोकसर प्रवाहा बस्ने ४५ वर्षीय शिवजी पासवानको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।



त्यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नहडास्थित सडकमा ३ वटा मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा को.१७ प ६९४४ नम्बरको मोटरसाइकल चालक मोरङ बेलबारी नगरपालिका-२ लालभित्ती बस्ने ३५ वर्षीय हर्क बहादुर राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकल, प्र.१-०२-०४३ प १७१ नम्बर र को.३८ प ९२१० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो । साथै दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

यस्तै नवलपरासी(पूर्व) कावासोती नगरपालिका-८ थकालीचोकमा बा.१० च ६७१७ नम्बरको बोलेरो गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५३ वर्षीय गंगादत्त पाध्यको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय कालिगण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता काभ्रेको भुम्लु गाउँपालिका-७ पाटी बगरस्थित सुनकोशी नदीको बगरमा बिर बि एण्ड सन्स वालुवा तथा रोडा उद्योगको प्रदेश ३-०१-००३ क ७६०३ नम्बरको स्काईभेटर चलाउँदै गरेको अवस्थामा स्काईभेटरबाट लडेर चालक नवलपरासी(पूर्व) बौडीकाली गाउँपालिका-६ घर भएका २४ वर्षीय सोनाल चुहान मगरको शनिबार साँझ मृत्यु भएको छ । रिंगटा लागेर अचानक लड्दा गम्भीर घाइते भएको बताइएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी सर्लाहीको हरिवन नगरपालिका-१ भोक्टेनीस्थित सडकमा ज.१ च १७१९ नम्बरको बोलेरो गाडीले ना.५३ प ९७९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हरिवन नगरपालिका-८ डाँडाटोल बस्ने २२ वर्षीय नविन राईको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोध्या अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कालीकोटको सान्नित्रिवेणी गाउँपालिका-१ अँधेरीखोलास्थित सडकमा प्रदेश ३-०१-००३ क ६७७४ नम्बरको टायरबाला जेसिबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीमा खसेर शनिबार दिउँसो दुर्घटना हुँदा जेसिबीमा सवार ८ जनामध्ये ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा जेसिबीमा सवार सान्नित्रिवेणी गाउँपालिका-१ बस्ने ३० वर्षीय चरित्र सार्की र सोही गाउँपालिका-२ बस्ने १६ वर्षीय युवराज बुढाको घटनास्थलमै तथा रास्कोट नगरपालिका-७ बस्ने २२ वर्षीय मिलन शाहीको जिल्ला अस्पताल मान्ममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने बेपत्ता भएका जेसिबी चालक सहित ३ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै कैलालीको गोदावरी नगरपालिका-७ हरैया चोकमा से.७ प ७७९३ नम्बरको मोटरसाइकल सु.प.प्र.०१-००२ त ६४६४ नम्बरको ट्याक्टरमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका-८ राजघाट बस्ने २३ वर्षीय छबिलाल चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता चितवनको ईच्छाकामना गाउँपालिका-२ काउले दुम्किनस्थित सडकमा ना.६ त ९७८९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने १६ वर्षीय सोम बहादुर गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी दाङको घोराही उपमहानगरपालिका-२ बलिङग खोलास्थित सडकमा रा.२ प ४८९२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनास्थलमा आवश्यक उद्दार कार्य गर्नुका साथै दुर्घटनामा सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार