मृत अवस्थामा १० जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । मकवानपुर, इन्द्रसरोबर गाउँपालिका-३ ज्यामिरे बस्ने ३५ वर्षीया सरस्वती वाईबा सोही ठाउँस्थित बारीमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

गत मंसिर १३ गतेदेखि हराएकी उनको खोजी गर्ने क्रममा उक्त बारीमा खाल्डोमा पुरिएको अवस्थामा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रदेश प्रहरी कार्यालय समेतबाट डग सहितको टोली खटीगएर थप अनुसन्धान गरिरहेको छ ।



त्यस्तै स्याङ्जा, गल्याङ नगरपालिक-११ निमाघाटस्थित कालिगण्डकी नदी किनारमा पाल्पा बगनाशकाली गाउँपालिका-८ बस्ने ५८ वर्षीय यज्ञ प्रसाद बस्याल शनिबार मृत अवस्थामा फेला परेका छन् । यता नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-९ भानुनगर बस्ने २० वर्षीय मनिष पुलामी मगर आफ्नै घरको सुत्ने कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै डोटी, शिखर नगरपालिका-२ मुडेगाउँ कठाली बस्ने ३५ वर्षीय गोविन्द बोगटी शनिबार मृत अवस्थामा फेला परेका छन् । सोही नगरपालिका-२ सालमनी मन्दिर नजिक सेती नदीमा नुहाउने क्रममा नदीले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डोटी र इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नदीले बगाएको स्थानबाट करिब ४ सय मिटर तल शव फेला परेको हो ।

यता मोरङ, विराटनगर महानगरपालिका-१६ स्थित चौरीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस्तै रोल्पा, माडी गाउँपालिका-२ धाराखोला बस्ने ५४ वर्षीय मन प्रसाद घर्ती सोही गाउँपालिका-२ ब्याङखोलास्थित खोल्सामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । मंसिर २० गते घरबाट हिँडेका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त खोल्सामा उनको शव फेला परेको हो ।

त्यसैगरी रुकुम (पूर्व), सिस्ने गाउँपालिका-१ ठुलोसिस्ने बस्ने २७ वर्षीय नविन बुढा सोही ठाउँस्थित जंगलमा शुक्रबार मृत अवस्थाम फेला परेका छन् । घाँस काट्न गएका बुढा जंगलमा मृत फेला परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय प्वाङ र जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)बाट खटिएको प्रहरीले घटनास्थलबाट १ थान भरुवा बन्दुकसमेत बरामद गरेको छ ।

यसैगरी पर्सा, वीरगंज महानगरपालिका-२२ जगरनाथपुरस्थित पप्पु कन्ट्रक्सनको छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उता कैलाली, धनगढी उपमहानगरपालिका-१५ उर्मीस्थित सडक छेउको पानी जमेको नालामा सोही ठाउँ बस्ने ५५ वर्षीय हरिलाल जोशी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै कञ्चनपुर, बेदकोट नगरपालिका-५ धर्मपुर बस्ने ६२ वर्षीय नर बहादुर धानुक आफ्नै घरभित्र शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार