मोबाईल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने

सिभिल बैंकको मोबाईल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने सम्झौता सम्पन्न भएको छ । सोमबार सिभिल बैंक लिमिटेड र नेपाल टेलिकमका बीच यस्तो सम्झौता भएको जनाइएको छ ।

सम्झौतापत्रमा सिभिल बैकका तर्फबाट चिफ विजिनेस भोलाबहादुर बिष्ट र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत संगिता अर्यालले हस्ताक्षर गरेका थिए ।



सो सम्झौतापत्र अनुसार २०७९ पौष १ गतेदेखि नेपाल टेलिकमको मोबाईल सेवा प्रयोगकर्ताहरुले डाटा अन गरी सिभिल बैंकको मोबाईल बैंकिङ एप मार्फत फन्ड ट्रान्सफर, क्यूआर पेमेन्टलगायत अन्य फिचरहरुको उपयोग गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।

नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यममार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीतिबमोजिम सिभिल बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यो सम्झौता गरेको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

सिभिल बैंकको साढे चार लाख भन्दा बढी मोबाइल बैंकिङ एपका प्रयोगकर्ताहरु यस सम्झौतापत्रबाट प्रत्यक्ष लाभान्वित हुने कुरा सिभिल बैकका चिफ विजिनेस भोलाबहादुर बिष्टले बताए ।

सम्बन्धित समाचार