नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ मंसिर ।
बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सन् २०४१ सम्ममा स्मार्ट बङ्गलादेश निर्माण गर्ने योजना सार्वजनिक गरेकी छिन् । प्रधानमन्त्री हसिनाले बङ्गलादेशले आगामी सन् २०४१ सम्ममा बङ्गलादेशलाई एक विकसित बङ्गलादेश बनाउने बताइन् ।
सोमबार यससम्बन्धी कार्ययोजना सार्वजनिक गर्दै प्रधानमन्त्री हसिनाले भनिन्, ‘हामीले सन् २०४१ सम्ममा हाम्रो बङ्गलादेशलाई विकसित बनाउने छौँ र बङ्गलादेश स्मार्ट बङ्गलादेश हुनेछ’, बङ्गलादेशको एक समाचार समिति, युएनबीलाई उद्धृत गर्दै चिनियाँ समाचार समितिले जनाएको छ ।
बङ्गालदेशको राजधानी ढाकामा सोमबार आयोजना गरिएको ‘डिजिटल बङ्गलादेश दिवस २०२२’ समारोहलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएकी हुन् । त्यस अवसरमा उनले स्मार्ट बङ्गलादेश निर्माणका लागि स्मार्ट नागरिक, स्मार्ट अर्थतन्त्र, स्मार्ट सरकार र स्मार्ट समाज पनि आवश्यक रहेकोमा जोड दिँदै यी कार्यहरू सुरु गर्ने बताइन् ।
उनले हरेक नागरिकले कुनै न कुनै सिप सिक्नुपर्ने र दक्ष बन्नुपर्ने भन्दै यहाँका हरेक नागरिकले प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिइन् । उनले सूचनामा आधारित समाजको निर्माणमा जोड दिँदै यहाँका अर्थतन्त्र पनि सूचना प्रविधिमा आधारित रहेर विकास गरिने बताइन् ।