नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ मंसिर ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । बारा, बिश्रामपुर गाउँपालिका-५ इटियाही दरबार कोलोनीस्थित खेतमा रहेको परालको कुन्युमा जितपुर सिमरा उपमहानगरपालिका-८ राजनगर घर भएका २२ वर्षीय सुरज साह कानु बुधबार मृत अवस्थामा फेला परेका छन् ।
उक्त कुन्युमा शंकास्पद अवस्थामा शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा, प्रहरी चौकी मुसहर्वा र वीरगंजबाट डग सहित खटिएको प्रहरीले टोलीले घटनाको थप अनुसन्धानका लागि २ जनालाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै कास्की, पोखरा महानगरपालिका-२९ पट्नेरी पुलस्थित सेती नदीमा सोही महानगरपालिका-२७ रिठ्ठेपानी बस्ने ७४ वर्षीय नन्दराम कार्की बुधबार मृत अवस्थामा फेला परेका छन् । यता काठमाडौं महानगरपालिका-८ पुरानो बानेश्वर डेरा गरी बस्ने एकिन वतन नखुलेका ४३ वर्षीय राजेश तामाङ बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै ललितपुर, महालक्ष्मी नगरपालिका-३ इमाडोलस्थित महान नेपाली ड्राईभिङ सेन्टर अगाडी रहेको बा.१ ज ६०३० नम्बरको पुरानो भ्यानभित्र महालक्ष्मी नगरपालिका-२ सुबेदी टोल बस्ने ५४ वर्षीय राधाकृष्ण सुबेदी बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

