चालकहरूबाटै बदनाम हुनसक्छ ‘पठाओ’

नेपालमा सञ्चालन भइरहेका राइड सेयरिङ प्लेटफर्महरूमध्ये ‘पठाओ’ सेवाग्राही वा उपभोक्ताहरूले सर्वाधिक रुचाइएको र विश्वास गरिएको प्लेटफर्म हो । यसको बढ्दो लोकप्रियतासँगै यसको ब्राण्डको दुरूपयोग हुने खतरा पनि त्यत्तिकै बढेको पाइएको छ । बेलैमा कम्पनी सजग नहुने हो भने पठाओको गुडविल विस्तारै गिर्न सक्छ ।

झापाबाट काठमाडौं घुम्न आएकी कुसुमले बेलुकीपख नयाँ बानेश्वरबाट सोह्रखुट्टे जान पठाओको एपबाट बाइक सर्च गरिन् तर सबै चालक अफलाइनमा रहेकोले पाउन सकिनन् । तर उनी बाटोमा निस्किनासाथ पठाओका चालकहरू अफलाइनमा लगिदिन तयार भए । यो एउटा प्रतिनिधि घटना मात्र हो ।



पठाओकै चालकहरूबाट पठाओको गुडविल गिराउने कार्यको आरम्भ भएको जनगुनासो पनि छ । सेवाग्राहीलाई सर्वाधिक खाँचो हुने समयमा पठाओका चालकहरू अफलाइनमा बसेर ग्राहकसँग मोलमोलाई गरिरहेका भेटिन्छन् । उनीहरूको रुचि अफलाइन सेवामा देखिन्छ । पठाओकै रेटमा सेवा प्रदान गर्न तत्पर देखिए पनि अफलाइनमा सेवा दिँदा कम्पनीलाई बुझाउनुपर्ने २० प्रतिसत रकम कम्पनीलाई बुझाउनु नपर्ने भएकोले चालकहरूले यसो गरेका हुनसक्ने अनुमान छ ।

तर अफलाइन सेवा जोखिममुक्त भने छैन । अफलाइन सेवा लिँदा–दिँदा कुनै दुर्घटना भइहाल्यो भने कम्पनी जिम्मेवार हुँदैन । यसले यात्रु तथा चालक दुबैलाई क्षति गर्छ । अनलाइनमार्फत् पठाओको सेवा लिँदा यात्री तथा चालक दुबैलाई ११-११ लाखको बीमा गरिएको पठाओका प्रमुख असीममानसिंह बस्नेतले बताए । चालक २० प्रतिशत रकम बचाउने मोहमा पर्दा कुनै दुर्घटना भइहाले कम्पनीले दिने यस सुविधाबाट यात्रु र चालक दुबै पक्ष वञ्चित हुनुपर्ने देखिन्छ ।

 

सम्बन्धित समाचार