कसको नेतृत्वमा बन्ला नयाँ सरकार ? यस्तो छ अंकगणित

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै देशका ठूला भनिएका दलहरु आफू नेतृत्वको सरकार गठन गर्ने प्रक्रियामा लागि परेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आइतबार साँझ आह्वान गरेकी हुन् । राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि आह्वान गरेको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिले प्रधानमन्त्री नियुक्तका लागि यही पुस १० गते आइतबार दिनको ५ :०० बजेभित्र दाबी पेश गर्न आग्रह गरेकी छिन् । राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्तिका लागि नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न आह्वान गरेकी हुन् ।



मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कुल २७५ जना सांसदमा प्रत्यक्षबाट १६५ जना निर्वाचित भएका छन् भने समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना विजयी भएका छन् । प्रतिनिधिसभामा नेपाली कांग्रेस सबैभन्दा ठुलो दल बनेको छ । कांग्रेसको कुल सिट संख्या ८९ रहेको छ । त्यसैले नयाँ सरकार गठनको लागि कांग्रेसले नै आफ्नो नेतृत्वमा सरकार बनाउन अग्रसर रहने अनुमान लगाउन सकिन्छ । यद्यपि कांग्रेस नेतृत्वको गठबन्धनसँग प्रतिनिधिसभामा प्रस्ट बहुमत भने देखिएको छैन ।

गठबन्धन नेतृत्वको सरकार बनाउन कति सहज ?
कुल २७५ जना सांसदमा नयाँ सरकार गठनका लागि न्यूनतम १३८ सांसदको समर्थन चाहिन्छ । गठबन्धनमा आवद्ध दलको सिट संख्या हेर्ने हो भने नेपाली कांग्रेसको प्रत्यक्ष र समानुपातिक गरी जम्मा ८९ सांसद रहँदा, नेकपा माओवादी केन्द्रको ३२, नेकपा एकीकृत समाजवादीको १०, लोसपा नेपालसँग ४ र राष्ट्रिय जनमोर्चासँग एक सांसद रहेका छन् ।

गठबन्धनसँग प्रतिनिधिसभामा कुल सांसद सङ्ख्या १३६ मात्र रहेको छ । तर, नयाँ सरकार गठनका लागि न्यूनतम १३८ सांसदको समर्थन चाहिन्छ । त्यसैले गठबन्धनले कम्तीमा अन्य दुई सांसदको आवश्यक रहेको देखिन्छ । बहुमतको सरकार गठन गर्न गठबन्धनले ३ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी वा ६ सिट रहेको जनमत पार्टीलाई साथमा लिए गठबन्धनको सरकार बनाउन सक्छ ।

नेकपा (एमाले) को नेतृत्वमा सरकार बनाउन कति सम्भव छ ?
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा दोस्रो दल बनेको नेकपा एमाले पनि आफ्नो नेतृत्वको सरकार बनाउन लागिपरेको छ । प्रतिनिधिसभामा ७८ सिट रहेको एमालेले चुनावी तालमेल गरेका जसपा र राप्रपा सहित अन्य दलसँग समन्वय गरे एमालेको नेतृत्वमा सरकार बन्न सक्छ । यस्तोमा एमालेले माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन गर्दा १४४ सिट संख्या पुग्छ र सरकार गठन गर्ने दाबी प्रस्तुत गर्न सक्छ ।

कांग्रेस र एमाले मिले बन्नेछ बहुमतको सरकार
मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पहिलो र दोस्रो दल बनेको नेपाली कांग्रेस र नेकपा एमाले समन्यव गरेर नयाँ सरकार बनाउने विकल्प पनि जिवितै रहेको छ । कांग्रेससँग ८९ सांसद रहँदा एमालेसँग ७८ सांसद रहेकाले दुबैको संख्या हेर्दा १६७ सिट पुग्छ । जुन बहुमतको सरकार बनाउन निकै सहज रहेको छ ।

आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको बैठकले आगामी सरकार कांग्रेससकै नेतृत्वमा गठन गर्न पहल गर्ने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

बैठकले संसदीय दलको निर्वाचनका लागि समिति पनि गठन गरेको छ । बैठकमा निर्वाचनपछिको समीक्षा, समसामयिक राजनीतिकलगायत विषयमा छलफल भएको थियो ।प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।

संसदमा १२ राजनीतिक दलको प्रतिनिधित्व
संसदमा नेपाली कांग्रेस , नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीपार्टी ,राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी गरी १२ वटा राजनीतिक दलको प्रतिनिधित्व भएको छ । त्यस्तै ५ जना स्वतन्त्र सांसदहरुले जितेका छन् ।

सम्बन्धित समाचार