
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । पाल्पा, रिब्दिकोट गाउँपालिका-४ बाउनडाँडामा लु.१ ख ९१४३ नम्बरको ट्रकमा लु.६८ प २०५ नम्बरको मोटरसाइकल ठोक्किएर मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार रिब्दिकोट गाउँपालिका-६ बस्ने ३० वर्षीय नर बहादुर गाहाको मृत्यु भएको छ ।
उक्त ट्रकलाई ओभरटेक गर्ने क्रममा ट्रकको पछाडिको चक्काले किँच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता रूपन्देही, तिलोत्तमा नगरपालिका-५ मणिग्रामस्थित सडकमा लु.४७ प ३६१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किएर गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा चालक सुद्धोधन गाउँपालिका-६ बस्ने २४ वर्षीय गजेन्द्र सहनी र मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका २४ वर्षीय पुरूष रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै कास्की, पोखरा महानगरपालिका-२९ भण्डारढिकस्थित सडकमा ग.२२ प ६२०२ नम्बरको मोटरसाइकलको ठककरबाट लम्जुङ मध्यनेपाल नगरपालिका-८ करापु घर भई कास्की पोखरा महानगरपालिका-२९ पट्नेरी बस्ने ३९ वर्षीय गणेश परियारको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै मकवानपुर, मनहरी गाउँपालिका-९ खरङगामा लु.२ ख ४६०७ नम्बरको बसको ठक्करबाट भोजपुर नगरपालिका-७ कोदार बस्ने ४५ वर्षीय सिता मिजारको बुधबार बिहान मृत्यु भएको छ । काँकडभिट्टाबाट स्याङ्जातर्फ आउँदै गरेको ना.५ ख ६१०३ नम्बरको बसमा सवार भएकी उनलाई उक्त स्थानमा चिया खान रोकिएको अवस्थामा बाटो काट्ने क्रममा सो बसले ठक्कर दिँदा गम्भीर घाइते भएपछि चुरेहिल अस्पताल हेटौंडा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

