हारेर पनि जितेका गगन …

नेपाली कांग्रेस पार्टीको संसदीय दलको नेताका रूपमा पार्टी महामन्त्रीसमेत रहेका गगन थापाले हार व्यहोरे पनि पार्टीको सुदूर भविष्यका लागि तथा पार्टीभित्रको आन्तरिक लोकतन्त्र बचाउने सवालमा उनले महत्वपूर्ण जित हासिल गरेका छन् । हारपछि पनि उनको साहसिक तथा दूरगामी प्रभाव पार्ने कार्यको सर्वत्र प्रशंसा भइरहेछ । मूलधारका मिडिया र सामाजिक सञ्जालहरूमा उनको फ्रान्सका फुटबल खेलाडी केलियन एम्बाप्पेसँग तुलना गरिएको छ ।

प्राविधिक रूपमा संसदीय दलको नेताका रूपमा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको विजय भए पनि उनको जितप्रति सिङ्गो देश अपेक्षित खुसी देखिएन  । देउवाले अबका दिनहरूमा पार्टी जीवन र मुलुकको हितमा केही उल्लेखनीय काम गर्लान् भनेर कसैलाई विश्वास नभएर पनि हुन सक्छ । गरे भने त्यो आश्चर्यको विषय बन्ने छ । देउवाले देश र जनताका पक्षमा कुनै उल्लेखनीय काम गर्लान भनेर अरू त अरू, उनलाई मत दिएर जिताउने लालची सांसदहरूलाई समेत नहुन सक्छ । तर्क–कुतर्क जे गरे पनि उनीहरूले प्रभावमा परेरै नुनको सोझो गरेका हुन् । उनीहरूले मुलुकले नै अपेक्षा गरेका व्यक्तित्वलाई मत नदिएर कहिल्यै हरियो हुन नसक्ने बूढो रूखमा पानी हालेर घर फर्केको दिन आत्मग्लानीको महसुस गरेको हुनुपर्छ र पश्चत्तापमा छटपटाउँदै रात बिताएको हुनुपर्छ ।



प्रतिभाले सिनियर वा जुनियर भनेर चिन्दैन, क्षमताको आँकलन गर्छ । उमेर वा पार्टी सदस्यता लिएका आधारमा सिनियर वा जुनियर हुन्छ भन्ने हो भने पनि देउवाभन्दा पहिले पार्टी प्रवेश गरेका व्यक्ति पनि पार्टीभित्र होलान् । जङ्गलमा आकारका हिसाबले हात्तीभन्दा सिंह सानो हुन्छ तर सिंहलाई जङ्गलको राजा मानिन्छ ।

गगन थापा पार्टीभित्र निर्विकल्प व्यक्ति भने होइनन् । तर पनि गगनले एउटा सांसदका रूपमा संसदभित्र र पार्टीको जिम्मेवार सदस्यका रूपमा पार्टीभित्र हालसम्म खेलेको भूमिकालाई विश्लेषण गर्दा पक्ष प्रतिपक्ष मात्र होइन, सिङ्गै देशले आशा र भरोसा गरेका व्यक्ति भने अवश्य हुन् । उनी अरूभन्दा अब्बल देखिएका छन् र उनीभित्र धेरै सम्भावनाहरू पनि छन् । उनले अवसर पाउने हो भने देश र जनताका पक्षमा धेरै योगदान गर्न सक्छन् भन्ने कुरामा धेरैलाई द्विविधा पनि छैन । त्यसैले पनि उनको पराजयको चर्चा जित हासिल गरेका देउवाको भन्दा बढी भएको हुनसक्छ ।

गगन एक्लै पनि छैनन् । उनीसँग विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रदीप पौडेलजस्ता देशले नियालीरहेका व्यक्तिहरूको साथ र समर्थन पनि प्राप्त छ । नयाँ पार्टी र युवा नेताहरूको सद्भाव छ । उनीसँग पार्टीभित्र र बाहिर सबैलाई मिलाएर लैजान सक्ने सामथ्र्य पनि छ । यही भएर पनि उनीबाट मुलुकले धेरै अपेक्षा गरेको हुनसक्छ । गगनले पनि उनीप्रतिको यो अपार सद्भाव र विश्वासलाई बचाउन सक्नुपर्छ, यो अन्तिम अवसर होइन । खेल त भर्खर आरम्भ हुँदैछ ।

घात, अन्तर्घात र प्रतिघातको इतिहास बोकेको नेपाली काङ्ग्रेसभित्र गगनका लागि आगामी दिनहरू पनि त्यति सहज र सरल भने छैनन् । सन्त नेताको छवि बनाएका कृष्णप्रसाद भट्टराई र लौहपुरुष गणेशमान सिंहलाई समेत निराश बनाएको काङ्ग्रेसले गगनलाई सहजै मार्ग प्रशस्त गरिदेला भन्ने लाग्दैन । उनीमाथि आफ्नैबाट षडयन्त्र र अन्तर्घात पनि हुन सक्छ । त्यसका लागि पनि गगन तयार हुनुपर्छ र संयमित भएर घात, अन्तर्घात र षडयन्त्रलाई परास्त गर्दै अगाडि बढ्न सक्नुपर्छ । नेताको मूल्याङ्कन नै मुलुकले असजिलो अवस्था भोगिरहेको बेला हुने हो । म्याराथुन दौडमा भाग लिने खेलाडीले आरम्भमा नै सय मिटरको दौडमा जस्तो चम्किनु हुँदैन । यो हेक्का गगनमा हुनुपर्छ ।

सम्बन्धित समाचार