प्रधानमन्त्री प्रचण्डको शपथग्रहण आज

प्रधानमन्त्रीमा नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको शपथग्रहण गर्दैछन् । आज (सोमबार) अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिनेछन् ।

सोमबार नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह आयोजना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह सोमबारका लागि तय भएको छ ।



नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका नवनियुक्त प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाको एक सय ६९ सांसदको समर्थन छ । सोमबार नै मन्त्रिपरिषद्का केही सदस्यले समेत पद तथा गोपनीयताको शपथ लिनसक्ने बताइएको छ ।

प्रचण्डलाई राष्ट्रपति कार्यालयका अनुसार आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । यसअघि अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि प्रतिनिसभाका कूल एक सय ६९ जना सदस्यको समर्थनसहितको दाबी पेश गरेका थिए ।

राष्ट्रपति भण्डारीले यही पुस ३ गते सात दिनको समयसीमा दिई प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेकी थिइन् । त्यसको समयसीमा आइतबार साँझ ५ बजे सकिएको हो । सो समयसीमा अगावै नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदको समर्थन पेश गरेका थिए ।

सम्बन्धित समाचार