एलपी पौड्याल
काठमाडौं, ११ पुस ।
राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन भन्ने र राजनीतिमा स्थायी शत्रु वा मित्र पनि कोही हुँदैन भन्ने भनाइलाई नेपालको राजनीतिमा विकसित पछिल्लो घटनाक्रमले एकैचोटी पुष्टि गरिदिएको छ । हातेमालो गर्दै हिँडेका देउवा र प्रचण्ड एकाएक छुट्टिन पुगेका छन् भने केही समयअघिसम्म तिक्ततापूर्ण व्यवहार गर्दै आएका प्रचण्ड र ओली नाटकीय रूपमा काँधमा काँध मिलाउन पुगेका छन् । परिणामस्वरूप प्रतिनिधि सभाको निर्वाचनमा तेस्रो स्थानमा सीमित हुन पुगेको पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालका ४४औं प्रधानमन्त्री बन्न सफल भएका छन् ।
आइतबार दिउँसो लगभग १ बजेसम्म ठूलो चहलपहल र शक्तिशाली देखिएको प्रधानमन्त्री निवास बालुवाटार एकाएक बेहुली अन्माएको घरझैं सुनसान बन्दै गयो भने लामो समयदेखि सुनसानजस्तो देखिने ओलीको बालकोट दरबार भने क्रमशः झकिझकाऊ र भरिभराऊ बन्दै गयो । यसरी आइतबार अपरान्हदेखि बालकोट दरबार अचानक शक्तिकेन्द्रका रूपमा उदायो । बालुवाटारबाट निस्केर प्रचण्ड आफ्ना दलबलसहित ओली निवास बालकोट पुगेपछि बालकोटको बार्दली एकाएक शक्तिशाली बनेको देखियो ।
शक्तिकेन्द्र हेरफेर हुनमा शेरबहादुर देउवाको अहङ्कारी भूमिका बढी जिम्मेदार देखियो । पहिलो पार्टी बनेको दम्भमा चुनावअधि प्रचण्डलाई दिएको वचनबाट पछि हट्तै प्रचण्डलाई साइजमा ल्याएर पहिलो कार्यकालको प्रधानमन्त्री पनि आफैं बन्ने र राष्ट्रपति पद पनि आफैंले नै राख्ने हठ गर्दा प्रचण्ड बिच्किए । नेपाली राजनीतिमा आफूभन्दा जान्ने र बाठो अरू कोही छैन भन्ने भ्रममा पर्दा नेपाली काङ्ग्रेसको पोल्टामा आइसकेको सत्ता ओलीको तजबिजीमा पुग्यो । देउवाको पद मोह र आत्मघाती बालहठले गर्दा काङ्ग्रेसले राजकीय सत्ताका सबै महत्वपूर्ण पद मात्र गुमाएन, प्रतिपक्षमा खुम्चिन बाध्य पनि बन्यो ।
भाग्यमानी प्रचण्ड
आफ्नो पार्टी नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको चुनावमा ३२ सिटमात्र ल्याएर तेस्रो दलका रूपमा खुम्चिए पनि आफ्नो चातुर्यले प्रचण्ड पहिलो र दोस्रो बनेका दलहरूलाई उछिन्दै प्रधानमन्त्री बन्न सफल भए । अब माओवादी केन्द्रले राजकीय सत्ताका विभिन्न पदहरूमा तथा प्रदेशमा समेत सम्मानजनक स्थान पाउने छ । काङ्ग्रेससँगको गठबन्धनमा हुँदा भन्दा एमालेसँगको गठबन्धनमा हुँदा प्रचण्डलाई बढी राजनीतिक लाभ हुने देखिन्छ । उनले बाजी मारेकै हुन् । उनी जसरी पनि पहिलो कार्यकालको प्रधानमन्त्री हुनु थियो, भए पनि ।
एमालेको राजनैतिक जित
चुनावअधि ओलीले आफ्नो पार्टीले बहुमत ल्याउने र आफू शक्तिशाली प्रधानमन्त्री हुने उद्घोष गरेका थिए तर चुनावी परिणामले ७८ सिटसहित दोस्रो स्थानमा खुम्च्याइदियो । जनमतको म्याण्डेटका आधारमा एमाले प्रतिपक्षमा बस्नुपर्ने थियो । त्यसो हुँदा ओलीलाई सत्ताबाट झारेर बालकोटमा सीमित बनाइदिने पाँच दलीय गठबन्धनसँग बदला लिन सजिलो थिएन । विशेष गरी उनलाई एमाले फुटाएर प्रचण्ड र देउवासँग गठबन्धन गर्न जाने माधव नेपालसँग बदला लिनु थियो । त्यसको लागि एउटा मोहरा चाहिएको थियो । महत्वकाङ्क्षी प्रचण्डले त्यस कमीलाई पूरा गरिदिए ।
प्रचण्डसँग हात मिलाएर ओलीले एक तीरबाट दुई सिकार गरेका छन् । उनले अर्को कार्यकालका लागि प्रधानमन्त्रीको कुर्सीमा लम्किन लागेका देउवालाई रक्तरञ्जित तुल्याएर प्रतिपक्षीको कुर्सीमा बस्न बाध्य तुल्याइदिए भने माधव नेपाललाई उठ्नै नसक्ने गरी भित्तामा पुर्याइदिए ।
ओलीको चतुर्याइँका कारण प्रतिपक्षमा सीमित हुनुपर्ने एमाले सम्मानपूर्वक सत्तामा विराजमान हुन पुगेको छ । त्यति मात्र होइन, प्रधानमन्त्रीका रूपमा प्रचण्ड रहे पनि उनी ओलीको इशारा र निर्देशन विना केही गर्न नसक्ने अवस्थामा हुनेछन् । अतः राजकीय सत्ताका विभिन्न पदहरूको चाँजोपाँचो मिलाउने कार्य ओलीकै निर्देशनमा हुनेछ ।
राष्ट्रपति, सभामुखलगायत महत्वपूर्ण स्थानमा एमालेको वर्चश्व हुनु भनेको एमालेको राजनीतिक जित हो । अन्तरपार्टी समीक्षा गर्दा केही असजिला प्रश्नहरूको सामना गर्नु पर्ने अवस्थाबाट ओली एकाएक प्रशंसा पाउने स्थानमा अवतरित भएका छन् । पार्टी नेतृत्व चतुर भयो भने सिट सङ्ख्याले मात्र कुनै माने राख्तैन भन्ने सन्देश दिन ओली र प्रचण्ड दुबै सफल भएका छन् ।
काङ्ग्रेसको बिजोग
काङ्ग्रेस यस अवस्थामा आउनमा देउवा मात्र दोषी छैनन् । उनलाई देवत्वकरण गरेर उनको वास्तविक कदभन्दा ठूलो भएको व्याख्या गर्ने झुण्डको भूमिका पनि कम निन्दनीय छैन । देउवा प्रधानमन्त्री हुँदा उनका वरिपरिका जुन वर्गलाई प्रत्यक्ष लाभ हुन्थ्यो, त्यो वर्गले देउवालाई आफ्नो तरिकाले सोच्न र गर्न नै दिएन । कान कोट्याएको हो कि रगत चुसेको हो भन्ने थाहा नपाउने देउवाको कमजोरीमाथि उनकै वरिपरिकाले फाइदा उठाउन रोज्दा देउवा तथ्यभन्दा टाढा भए । नत्र हठात् गठबन्धन छोडेर प्रचण्ड बालकोट हानिनुपर्ने थिएन ।
तर यस घटनाले काङ्ग्रेसका इमानदार कार्यकर्ता र भोटरलाई ठूलो चोट लगाएको छ । यसले काङ्ग्रेस पार्टीलाई पनि अपूरणीय क्षति भएको छ । यस घटनालाई पार्टीभित्र निर्मम समीक्षा गरिन्छ होला नै । देउवा पक्षका झुण्डले देउवाको प्रतिरक्षाका लागि अनेक तानावाना बुन्दै होलान् । अझै पनि देउवालाई देवत्वकरण गर्ने समूहबाट पार्टीलाई मुक्त नगर्नेे हो भने नेपाली काङ्ग्रेस पार्टी भारतीय काङ्ग्रेस पार्टीको अवस्थामा नपुग्ला भन्न सकिन्न ।