नेतृत्वको अभिमानको परिणाम : पहिलो पार्टी प्रतिपक्षमा

११ नेकपा एमालेको प्रस्तावमा महागठबन्धन निर्माण गरी नयाँ समीकरणका साथ नेकपा माओवादीका अध्यक्ष प्रचण्ड देशको ४४ औं प्रधानमन्त्रीमा नियुक्ति भएका छन् । दाहाल १६९ सासंदको मत जुटाएर प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । ८९ सिट ल्याएर जनताबाट पहिलो पार्टीमा अनुमोदित भएको नेपाली काङ्ग्रेस पार्टी अहिले शून्यमा झरेको छ । जम्मा ३२ सिट ल्याएर तेस्रो दल भएको माओवादी पार्टी सरकारको नेतृत्व गर्ने भएको छ । यो कांग्रेसभित्रको अहम्ता तथा शेरबहादुर देउवाका घमण्डले आज यो नियति आइपरेको काङ्ग्रेस नेताहरु बताउन थालेका छन् ।

पार्टीका हरेक निर्णयमा आफ्नो बहुमत छ भन्दैमा एकलौटी निर्णय गर्दै तथा पार्टीका महामन्त्रीहरुलाई समेत बाइपास गरेर एक्लै हिड्न खोज्नु देउवाको अपरिपक्ता थियो । गगन थापाले भनेका थिए, ‘कोठामा बसेर गरिने निर्णय हामी मान्दैनौं । भागबण्डाको विषयमा पार्टीमा छलफल हुनपर्थ्यो ।’ तर त्यसो हुन सकेन । पार्टीका सभापतिले एकलौटी निर्णय गर्नुभयो । आफ्नै पार्टीका महामन्त्रीहरुलाई भन्दा प्रचण्डलाई बढी विश्वास गरे । गठबन्धन १५ वर्षको नटुट्ने ग्यारेन्टीको उद्घोष गर्ने देउवाको सार्वजनिक भाषणलाई उनका विश्वास पात्र प्रचण्डले मिथ्या साबित गरिदिए ।



देउवाको राष्ट्रपति र प्रधानमन्त्री दुबै पद नछाड्ने अडान नै आत्मघाती बन्नपुग्यो । ठूलो पार्टीको सभापति भएको नाताले केही उनी केही लचिलो हुन सक्थे तर देउवाका सारथीहरुले त्यसो हुन दिएनन् । दिउन पनि कसरी र ? राष्ट्रपतिदेखि मन्त्रीसम्मको रेसमा रहेकाहरु दौरासुरुवाल सिलाएर बसिसकेका थिए । लाभका पदहरुमा आफ्ना मान्छेहरू पुर्याउन लालायित भएर बसेका थिए । उनीहरुले त सही र वस्तुनिष्ट मार्गनिर्देश गर्ने कुरै आएन ।

स्वयं देउवाले पनि आफ्नो विवेक प्रयोग गरेर प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री स्वीकार गर्न सकेनन् । एमसीसी जस्तै एमाले देखाएर प्रचण्डलाई गलाउन सकिन्छ र पहिलो कार्यकाल काङ्ग्रेसको नेतृत्वमा सरकार बनाउन सकिन्छ भन्नेमा देउवा ढुक्क भएका हुनुपर्छ । सम्भवतः बैकल्पिक गठबन्धन सम्भव छैन भनेर देउवका सारथीहरुले ब्रिफिङ्ग गरिरहेका हुनुपर्छ । तर चतुर खेलाडी प्रचण्डले यस्तो गोटी चालेकी काङ्ग्रेसलाई हेरेको हेरै बनाईदिए ।

राजनीतीमा चतुर खेलाडीका छबि बनाएका अनि अवसरलाई राम्रोसँग लिन जानेका प्रचण्ड कहिले काङ्ग्रेस त कहिले एमालेसँग लगनगाँठो कसे । जसरी पनि आफ्नो राजनीतिक यात्रालाई मूल धारमा राख्न सिपालु प्रचण्डले आफ्नो स्वार्थमा राजनीतिक समीकरणलाई नै उल्टाई दिए । राजनीतिमा कोही शत्रु कोही मित्रु हुँदैन भन्ने भनाइलाई केपी ओली र प्रचण्डले चरितार्थ गरिदिए ।

अन्ततः पद र पावरका निम्ति पाँच दलीय गठबन्धनको केही लागेन । एकीकृत समाजवादीका माधव नेपाल घर न घाटको हुन पुगे । १५ वर्षसम्म महासचिव भएर एमालेको नेतृत्व गरेका माधव नेपाल शून्य डिग्रीमा झरे । आज पश्चाताप गरेर केही हुनेवाला छैन । भुइँको टिप्न खोज्दा खल्तीकै गुम्न पुग्यो ।

सम्बन्धित समाचार