राम्रो बनाउनका लागि पुरानो भत्काउनैपर्छ भन्ने छैन : अध्यक्ष लिङ्देन

विसं २०३६ मा तत्कालीन राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आबद्ध भई राजनीति यात्रा सुरु गर्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातान्त्रिक राष्ट्रिय विद्यार्थी सङ्गठनका अध्यक्ष, राप्रपा झापाका सचिव, राप्रपाका केन्द्रीय सदस्य र महामन्त्री हुँदै अध्यक्ष हुनुभएको हो । पाँचथरमा जन्मी झापा हल्दिबारीमा झर्नुभएका उहाँले तत्कालीन झापा जिल्ला विकास समितिका सभापति र विसं २०७४ मा झापा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका रूपमा विकास तथा प्रविधि समिति सदस्यको अनुभव पनि बटुल्नुभएको छ ।

उहाँले राजनीतिक आन्दोलनका क्रममा दुईपटक कारागार र नौ महिनाभन्दा बढी बन्दी जीवन बिताउनुभएको छ । आफूलाई निष्ठाको पर्याय तथा विकास र सामाजिक एकताका अभियानकर्मीका रूपमा परिचित गराउन रुचाउने ५८ वर्षीय लिङ्देन यसपटक पनि एमालेका सहयोगमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई फराकिलो मतले हराउँदै विधायक बन्न सफल हुनुभएको छ । राजनीतिक यात्राका क्रममा सङ्घर्षका लामो कथा–व्यथाका अनुभवी अध्यक्ष लिङ्देनसँग सरकार गठन, आगामी कार्यादेशसहित समसामयिक विषयमा राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता उत्तम सिलवाल र उपप्रमुख समाचारदाता नारायणप्रसाद न्यौपानेले लिनुभएको अन्तर्वार्ताको सम्पादित अंश :



यसपटकको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई यहाँले कसरी लिनुभएको छ ?
देशलाई यथास्थितिमै राख्ने कि परिवर्तनतर्फ लैजाने भन्ने सन्दर्भमा यो आवधिक निर्वाचन असाध्यै महत्वपूर्ण थियो तर परिणाम हामीले अपेक्षा गरेअनुरूप भएन । दल विशेषले बहुमत प्राप्त गर्न नसकेका कारण आगामी संसद् कस्तो हुन्छ, सरकार कति स्थिर हुन्छ भन्न नसकिने परिणाम प्राप्त भएको छ । चुनावी नतिजाबाट ठूलो जनमत परिवर्तनका पक्षमा छ भन्ने सन्देश आएको छ । यसले परम्परागत राजनीतिक दलको विकल्प खोजिएको भन्ने देखाएको छ । मुलुकका ठूला राजनीतिक दलले यसबाट शिक्षा लिनुपर्छ भन्ने मलाई लाग्छ ।

चुनावमा जाँदा तपाईका कार्यसूची र जनताको मागबीच कत्तिको तालमेल भएको पाउनुभयो ?
हामीले मतदाताका बीचमा उठाएका विषय अभिभावकीयरूपमा राजसंस्था, सनातन हिन्दू राष्ट्र, प्रदेशको खारेजी, रोजगारी सिर्जना, समयमै मलखादको उपलब्धता र सुशासनप्रति जनताको व्यापक आकर्षण रहेको महसुस गरेका छौँ । हाम्रा मुद्दासँग जनता सहमत भए पनि विगतको क्रियाकलापका कारण तुरुन्तै पूर्ण विश्वास भने नगरेको मत परिणामबाट स्पष्ट हुन्छ । आगामी कार्यक्रम र क्रियाकलाप हेरेर मात्र समर्थन गर्ने भनी मतदाताले हामीलाई यसपटक ‘टेस्ट’ गरेको देखिन्छ ।

अहिलेको अवस्था र व्यवस्थामा तपाईको पार्टीका ‘एजेन्डा’ कार्यान्वयन सम्भव छ त ?
सम्भव छ, अनिवार्य छ । अहिलेकै व्यवस्था र अवस्थाबाट देश अघि जान सक्दैन । कतिपय मानिस अहिलेकै अवस्था र व्यवस्था ठीक छ भन्नेमा छन् तर राप्रपा भने अहिलेको व्यवस्थामा पनि समस्या छ, अवस्थामा त कुरै गर्नुपरेन भन्नेमा छ । अहिलेको अवस्था र व्यवस्था दुवैमा परिवर्तन र सुधार अनिवार्य छ । ढिलो, चाँडो त्यस बाटामा सबै राजनीतिक दलहरू जान जरुरी छ, अन्यथा जनता स्वयं परिर्वनका पक्षमा उभिन्छन् । त्यो चाहे मतदानबाट होस् वा आन्दोलनबाट भन्ने मलाई लाग्छ ।

राप्रपाको परिचय लोकतान्त्रिक दल भए पनि तालमेल र सहकार्यप्रति जनतामा प्रश्न छ, यसलाई कसरी हेर्नुभएको छ ?
अघिल्लो निर्वाचनदेखि नै राप्रपामा मात्र होइन, देशका सबै राजनीतिक दलले कुनै न कुनै गठबन्धन र तालमेलका आधारमा चुनाव लडेका छन् । अरू दलले जस्तै राप्रपाले पनि यस निर्वाचनमा एमालेसँग तीनवटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा सहयोग लिएर भाग लिएको थियो । यो कुनै सैद्धान्तिक तालमेलभन्दा पनि सिट लिन र दिन सहकार्य गर्ने विषय थियो । न एमालेले राप्रपाको मुद्दालाई स्वीकार र सहयोग गरेको थियो, न राप्रपाले एमालेका मुद्दालाई स्वीकार गरेर चुनावी तालमेल गरेको थियो ।

यसलाई सैद्धान्तिकरूपमा त्यति व्याख्या गर्न जरुरी छैन । अरू दलसँगको सम्बन्ध, सम्पर्क र निकटताभन्दा एमालेसँग राप्रपा राष्ट्रियताका मामिलामा स्वभाविकरूपले निकट छ । अन्यका भन्दा दर्शन र दृष्टिकोणले हामी नितान्त फरक छौँ । एमाले आफूलाई सेन्टरभन्दा लेफ्ट भन्छ भने हामी सेन्टरबाट अलिकति दायाँतर्फ (राइट) छौँ, हामी त्यसमै उभिन्छौँ, बुझ्छौँ र बुझाउँछौँ तर पूर्ण दक्षिणपन्थी भने होइनौँ । एमालेसँग कुनै सैद्धान्तिक तालमेल होइन ।

मुलुकको राजनीति अब कुन हिसाबबाट अघि बढ्ला जस्तो लाग्छ यहाँलाई ?
हामीले जुन व्यवस्था र प्रणाली अवलम्बन गरेका छौँ, त्यसको सन्देश भनेको कुनै पनि दलले बहुमत प्राप्त गर्न सक्दैन । हालको प्रणालीको आशय भनेको अलग–अलग विचारका सबै दल मिलेर सरकार चलाउने, सेवा प्रवाह र सुशासनका सन्दर्भमा एक भएर जाने प्रणालीको स्वरूप हो ।

सबैले आ–आफ्ना स्थानमा रही व्यवस्थाको मर्म बुझेर अघि बढेमा सहजरूपमा राजनीति अघि जान्छ तर अरूको अस्तित्वलाई स्वीकार गरिएन भने र परम्परागतरूपमै सरकारलाई आफ्ना दल, गुट र परिवारको स्वार्थका रूपमा प्रयोग गर्न खोजियो भने कुनै पनि बेला दुर्घटना हुनसक्छ ।

भिन्न राजनीतिक प्रणालीको वकालत गर्नुभएको तपाईका पार्टीका ज्येष्ठ सदस्यले सदनमा नवनिर्वाचित सम्पूर्ण सदस्यलाई शपथ दिलाउन पाएको अवसरलाई कसरी लिनुभएको छ ?
यो खुसीको कुरा हो, धेरै विशेषरूपमा लिनुपर्ने जरुरी छैन, राप्रपाले संरचना बनाउँदा र प्रतिनिधित्व गराउँदा गजब संजोग मिलेको छ । देशमा परिवर्तनका कुरा उठाउँदा परिवर्तन आकस्मिक होइन, नियमित हुनुपर्छ । भएका राम्रा कुराको संरक्षण गरेर अघि जान सक्छौँ । हामीले निरन्तरतासहितको परिवर्तनको मुद्दा उठाइरहेका छौँ ।

राम्रो बनाउनका लागि पुरानो भत्काउनैपर्छ भन्ने छैन । पुरानाको संरक्षण गरेर मात्र नयाँ राम्रो चिज बनाउन सकिन्छ । विगतमा नयाँ बनाउने नाममा पुराना भत्काइयो । नयाँ कस्तो बनाउने भन्ने कुनै संरचना, कुनै तस्वीर र कुनै खाका रहेनछ । अहिले राप्रपामा ८२ वर्षीय पशुपतिशम्शेर जबरादेखि २८ वर्षीया अनिता नेपालीसमेत जनप्रतिनिधिमा चयन हुनुभएको छ । युवाको प्रतिनिधित्व ६० प्रतिशत छ ।

हरेक पार्टीभित्र वंशज र सिद्धान्तबीचको टकराव देखिन्छ तर राप्रपा त्यसबाट मुक्त छ भन्ने लाग्छ ?
राप्रपा अहिले त्यसबाट पूर्णरूपमा मुक्त छ, कसैको भाइ, श्रीमती वा अन्यलाई अचानक चन्दा दिएका भरमा कार्यकर्ताले थाहा नपाई सांसद बनाइएको अवस्था छैन । योगदान, योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिइएको छ । नातागोता र चन्दाको स्थान छैन ।

एउटा अनुभवी राजनीतिकर्मीका हिसाबले मुलुकको भविष्यप्रति नेपाली जनतालाई सन्देश के दिन चाहनुहुन्छ ?
हामीले हाम्रो भविष्यका बारेमा ठूलो आशङ्का गर्नुपर्ने अवस्था छैन । तथापि हामीसँग जस्तो संरचना र प्रणाली छ, धेरै परिवर्तनका लागि निकै आश्वस्त हुनुपर्ने अवस्था पनि छैन । जनताले राप्रपालाई एउटा हैसियतमा पुर्याउनुभएको छ, हामी बलियो ढङ्गले उभिने छौँ, हाम्रो भविष्य उज्यालो छ, निराश हुनुपर्दैन ।

भर्खरै यहाँको अमेरिकालगायत मुलुकका राजदूतसँगका भेटघाट औपचारिक बधाईमा मात्र सीमित रह्यो कि अरू कुनै पनि ?
राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धसहित सरकार निर्माणका निर्णयमा राप्रपाको के भूमिका हुन्छ भन्ने अमेरिकी राजदूतको जिज्ञासा थियो । अमेरिका नेपालको शान्ति, समृद्धि र विकासका पक्षमा छ, निरन्तर सहयोग गर्न तयार छ, अमेरिका कुनै पनि प्रकारको हस्तक्षेप गर्न चाहन्न भन्ने रह्यो ।

नेपालको असंलग्नता, तटस्थता, पञ्चशीलजस्ता सिद्धान्त निरन्तर रहोस् भन्दै उहाँहरूले राप्रपाको पछिलो प्रगतिप्रति खुसी व्यक्त गर्दै हाम्रो वैचारिक सिद्धान्त र दृष्टिकोण बुझ्ने प्रयास गरेको पाएको छु ।रासस

 

सम्बन्धित समाचार