लोकतान्त्रिक काङ्ग्रेसको अलोकतान्त्रिक शैली

नेपाली काङ्ग्रेस आफूलाई लोकतान्त्रिक र गतिशील पार्टी मान्छ तर पार्टी नेतृत्वको चरित्र र व्यवहार हेर्ने हो भने त्यस्तो लाग्दैन । काङ्ग्रेसले आफ्ना तस्तावेजमा जे लेखेको भए पनि दृश्यमा नेपाली काङ्ग्रेस अत्यन्त अलोकतान्त्रिक र आत्मकेन्द्री देखिन्छ । नेपाली राजनीतिको पछिल्ला घटनाक्रमहरूलाई नियाल्दा पनि त्यस्तै लाग्छ । नत्र काङ्ग्रेसले अहिलेको दुर्गति व्यहार्नुपर्ने थिएन ।

हरेक लोकतान्त्रिक पार्टीले कुनै महत्वपूर्ण लिर्णय लिँदै गर्दा पार्टीमा घनीभूत छलफल गरेर मात्र निष्कर्षमा पुग्नुपर्ने हो र यसरी लिइएको निर्णयको परिणाम् सकारात्मक वा नकारात्मक जे आए पनि त्यसको स्वामित्व सिङ्गो पार्टीपङ्तिले लिनुपर्ने हो । तर, नेपाली काङ्ग्रेसले त्यस्तो आदर्श शैली गुमाइसकेको देखियो । अहिले त पार्टीले गरेको निर्णयहरू पार्टीका महामन्त्रीहरूले समेत सञ्चारमाध्यमहरूबाट जानकारी पाउनुपर्ने देखियो । देशलाई दूरगामी असर पार्ने पार्टीका निर्णयहरू नै महामन्त्रीहरूले समेत अन्य स्रोतहरूबाट जानकारी पाउनुपर्छ भने एउटा प्रश्न उठ्छ– त्यसो भए पार्टी कसले चलाएको छ त ? पार्टी पदाधिकारीहरूलाई नै सूचना लुकाएर गरिएको निर्णय कसरी पार्टीको निर्णय हुन सक्छ ? यदि हुन्छ भने त्योभन्दा अलोकतान्त्रिक र अराजक पार्टी अर्को कुन हुन सक्छ ?



जसरी एउटा आर्थिक रूपमा कङ्गाल व्यक्तिले आफ्नो नाम लक्ष्मी राख्तैमा ऊ आर्थिक रूपले सम्पन्न बन्न सक्तैन, त्यसरी नै कुनै पार्टीले आफ्ना दस्तावेजमा लोकतान्त्रिक पार्टी पदावली राख्तैमा उक्त पार्टी लोकतान्त्रिक पार्टी बन्दैन । लोकतन्त्र भनेको नाम होइन, चरित्र हो, व्यवहार हो । व्यक्तिले अङ्गीकार गरेको चरित्र र व्यवहारका कारण नै कुनै व्यक्ति अर्को व्यक्तिभन्दा फरक देखिने हो ।

त्यस्तै, लोकतान्त्रिक आदर्शलाई आत्मसात् गर्ने र पार्टीका आन्तरिक लोकतन्त्रलाई बलियो बनाएको पार्टी नै लोकतान्त्रिक पार्टी बन्ने हो । यस कसीमा नेपाली काङ्ग्रेसलाई घोट्ने हो भने परिणाम् निराशाजनक नै निस्कने छ । स्वार्थकेन्द्री र आत्मकेन्द्री बनेर पार्टीको आदर्शविपरीत व्यवहार गर्ने र सिङ्गो पार्टीलाई कमजोर बनाउने नेतृत्व पार्टी जीवनको ऐँजेरु हो । शरीरलाई कुरूप बनाउने ऐँजेरु कुनै बैद्यको उपदेशले मात्रै निको हुन सक्तैन ।

स्वार्थ–समूह सक्रिय हुँदा पार्टी कमजोर
प्रतिनिधिसभामा ८९ सिट ल्याउने नेपाली काङ्ग्रेसले विवेक पुर्याउन नसक्ता सत्तामात्र गुमाएन, सबै राजकीय पदहरू पनि गुमाउन पुग्यो । यसो हुनमा पार्टी सभापति शेरबहादुर देउवाको अहङ्कार कै भूमिका प्रमुख देखियो । देउवाले आफ्नै पदाधिकारीलाई अविश्वास गरे र कहिल्यै जनविश्वास आर्जन गर्न नसकेका र अरूको कुरा काट्दै उनका वरिपरि घुमेर फोहोरी झिँगाझैं भुुनभुनाउने नालायकहरूको कुरामा विश्वास गरे र उनले ऐतिहासिक भुल गरे । उनले आफ्नो सत्तारोहणमा बाधा पुग्ने ठानेर आफ्नै पदाधिकारीहरूलाई समेत अविश्वास गरे । उनले पार्टीपदाधिकारीहरूलाई नकारेको पाप तत्कालै करायो पनि । तर उनीसँग अब पश्चतापबाहेक केही बाँकी रहेन ।

पछिल्ला घटनाक्रमले के देखियो भने देउवा भाग्यको बलले मात्र पाँच पटकसम्म प्रधानमन्त्री बनेका रहेछन्, राजनैतिक चातुर्य त शून्य रहेछ । उनी चेतनाले भन्दा स्वार्थ समूहबाट बढी प्रभावित देखिए अनि स्वार्थको फोहरमा चिप्लिएर उनी आफू त लडे लडे, पार्टीलाई पनि ठूलो क्षति पुर्याए ।

ओली र प्रचण्डका अगाडि देउवा ज्यादै निरीह देखिए । उनले आफूले ओछ्याएर बसेको कार्पेट ओली र प्रचण्ड मिलेर तानेर लगेको पनि थाहा पाउन सकेनन् । पार्टी हितका लागि अब उनले बुढानिलकण्ठ दरवारमा आराम गरेर बस्नुको विकल्प छैन । स्वार्थ–समूहको बहकाउमा लागेर अङ्कगणितको खेल खेल्दै पुनः सक्रिय हुन चाहे भने त्यो नेपाली काङ्ग्रेस पार्टीका लागि मात्र होइन, लोकतन्त्रका लागि तथा सिङ्गो मुलुकका लागि पनि दुर्भाग्यपूर्ण हुनेछ ।

 

सम्बन्धित समाचार