राम दाइ, राम! राम!

कुनै पनि व्यक्तिले आफूले निर्धारण गरेको लक्ष्य प्राप्त गर्नुलाई नै जीवनको सफलता मान्ने गरिन्छ, जब कि देशका ७७ प्रतिशत मानिसहरू आफ्नो लक्ष्य प्राप्त गर्न सकिरहेका हुँदैनन् । यसको अर्थ उनीहरू सबै असफल नै भए भन्ने होइन । अझ त्यो भन्दा पनि महत्वपूर्ण प्रश्न कुनै व्यक्तिको लक्ष्य आफ्नो जहान परिवार पाल्नमा नै सीमित भयोे या समाज र राष्ट्रको लागि पनि केही योगदान गर्न सक्यो भन्ने कुराले धेरै माने राख्दछ । यसै कसीमा म मेरा एकजना मित्र तथा मजदुर नेतालाई स्मरण गर्न चाहन्छु ।

१ः प्रायः हरेक दिन एकजना अल्गो, गोह्रो र हँसिलो स्वभावको व्यक्ति आर्मीकट ज्याकेट, क्याप र कालो झोलाको साथ बाइकमा बिहान ९ः३० देखि साँझ ७ः०० बजेसम्म बागबजारको यतीप्लाजाको सेरोफेरोमा रहेका चिया पसल र चमेनागृहमा देखिने गर्नु हुन्थ्यो । उहाँको जनसम्पर्क धेरै भएको हुनाले सोही अनुसार मित्रहरू टेबुलमा घेरा हाल्न जुटिहाल्थे पनि । चिया पिउँदै गर्दा मजदुर समस्या, जग्गा कारोबार, समाज सेवा र राजनीतिका गफ चियागफको विषय बन्दथे ।



उहाँ दयालु स्वभाव, मिलनसार र साधारण जीवनशैलीको भए पनि खानपिनका विषयमा भने सौखिन देखिनुहुन्थ्यो । कुनै व्यक्तिलाई सम्बोधन गर्ने उहाँको आफ्नै विशिष्ट कला थियोे । विशेष गरी उहाँ भाइराजा, बैनी, ज्वाइँ, भान्जाभान्जीजस्ता नाताबोधक शब्दले सम्बोधन गर्नुहुन्थ्यो । उहाँसँग जम्काभेट हुने सबैलाई चिया खाजा वा खानाको लागि आग्रह गर्ने गर्नुहुन्थ्यो । उहाँको सरल र मिलानसार व्यक्तित्व उहाँको पूँजीको रूपमा देखिन्थ्यो ।

यस्तै किसिमको दिनचर्यामा रमाउन र बाँच्ने बानी परिसकेका व्यक्तित्व तथा श्रमजीवी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष स्वर्गीय रामबहादुर तामाङका लागि थप परिचयको आवश्यकता थिएन । अझ सबैको जिब्रोमा झुण्डिएको प्यारो नाम ‘राम दाइ !’ को सम्बोधन उहाँप्रतिको स्नेह र श्रद्धाको द्योतक मानिन्थ्यो ।

२ः पहिलो भेट र संगठन : मलाई ठ्याक्कै तिथि मिति थाहा भएन तर २०६६ सालतिरको कुरा हो, एकदिन बिहान ९ः०० बजेतिर कालोपुल चौकमा म साथीहरूसँंग गफ गरिरहेको अवस्थामा एक्कासि एउटा बाइक हाम्रो अगाडि आएर रोकिन्छ । हामीहरूमध्ये एकजना साथीको राम्रो चिनजानले मेरो पनि उहाँसंँग परिचय हुन्छ । मजदुरका क्षेत्रमा काम गर्ने भनेपछि अझ नजिक भएझैं महसुस भयो र फोन नम्बर लेनदेन भयो । आफू पनि कालोपुल बस्ने भएकोले भेटघाटको लागि खासै समस्या थिएन । भेटेको पर्सिपल्टदेखि उहाँको कालोपुलस्थित घरको अफिसमा यातायात संघ र त्यसपछि ट्रेड युनियनको दर्ता गर्ने प्रक्रियाका लागि हामी पाँच–सातजना जुटिरहेका हुन्थ्यौं ।

दर्ता प्रक्रियापश्चात मजदुर वर्गको समस्या समाधानका लागि रातदिन नभनी अफिसमा नै जम्मा भएर काममा जुट्थ्यौं । आफूले नसकेको खण्डमा प्रहरी चौकी, अड्डा अदालतमार्फत समस्याहरूको निरुपण गर्ने गरिन्थ्यो ।

हरेक वर्षझैं मजदुर दिवस, नारी दिवस तथा अन्य सेवा र सहयोगका कार्यक्रमहरू तथा दशैं तिहार जस्ता पर्वहरूमा देउसी भैलो खेल्नेजस्ता सांस्कृतिक कार्यक्रमहरू पनि गर्दै/मनाउँदै आएका थियौं । राम सर संघ र महासंघलाई आफ्नो घर परिवर वा आफ्नै श्रीसम्पतिजस्तै ठानेर श्रमजीवी वर्गको पक्षमा दृढताको साथ उभिनु हुन्थ्यो । उहाँ हामी सबैका लागि प्रेरणाको स्रोत हुनुहुन्थ्यो ।

पछिल्लो चरणमा राम सर अचानक डेंगू रोगले थलिनु भएको खबर सुनियो । केहीपछि फेरि आराम भएको खबर पनि आयो । त्यसपछि पुनः ग्यास्टिकको समस्याले गर्दा वीर हस्पिटलमा उपचार गर्न पुगेको कुरा साथीहरूबाट जानकारी पाएँ । मोबाइलमा कल गरेर बुझ्न रोज्दा उहाँको मोबाइल कहिले स्वीच अफ रहने र कहिले नउठ्ने हुँदा पछिल्लो जानकारी पाउन सकिएको थिएन । तर लामो समयपछि उहाँ अचानक (कार्तिक १६ गते) बागबजार अफिसमा गएको र साथीहरूसँग भेटघाट भएको खबरले खुसी तुल्यायो । झण्डै ५० दिनको ग्यापपछि कार्तिक १६ गते साँझ ४ः५८ बजेतिर उहाँको फोन आयो । भन्नुभयो– ‘पोखरेल दाइ ! अब म ठिक भएँ । भोलि पर्सितिर भेट्नु पर्छ ।’ मैले पनि यथाशीघ्र भेट गर्ने वचन दिएँ । तर, दुर्भाग्यबस् पछिल्लो वचन पूरा हुन पाएन ।

३ः देहान्तपछिको घटनाक्रम : कार्तिक १८ गते ठूलो एकादशीका दिन ११ः०० बजेतिर म राम सरलाई भेट्न बागबजार जाने सुरसार कस्दै थिएँ । तर विधिको विधान भनौ या संयोग, घरबाट निस्कने तरखरको बीचमा उपाध्यक्ष भुवन बस्नेतजीको फोन आयो– ‘होइन तपाईं कता ?’
‘घरमा ।’
‘कसैले फोन गरेका छैन ?’
‘छैन ।’
‘होइन, हाम्रो राम सर त बित्नु भएछ त !’
‘लौ के अचम्म हो !’
‘हो, हो, पशुपति शवदाह गृहमा जलाउन ठिक्क पारेका छन् रे । छिट्टो आइपुग्नू ।’

हतारमा कौशलटार बस स्ट्याण्डमा बस कुर्दै थिएँ, भुवनजीको फेरि फोन आयो– ‘छिटो आउनु छिटो, अन्यथा राम सरको अन्तिम मुख हेर्न पनि नपाइएला नि !’ मनमनै सोंचेँ, आखिर यस्तो हतार किन र के को लागि हो ? उहाँसँग बिताएका पलहरू क्षणहरू मेरो मानस पटलमा खेलाउँदै पशुपतिको विद्युत शवदाह गृहमा पुग्दा स्ट्रेचरमा राखेर राम सरको शव जलाउन क्यूमा राखेको रहेछ । म स्तब्ध भएँ । मन थाम्न नसकेन र आँखा रसाउन थाले ।

अन्य साथीहरूसँग फोन सम्पर्क हुन थालेपछि सबैतिरबाट साथीहरू जम्मा हुन थाले । सबै साथीहरूको सल्लाहअनुसार तत्काल उहाँलाई जलाउने काम रोक्न र उहाँको वास्तविक हकदारको जिम्मा लाउने महासंघ साथीहरूले अडान राखे । त्यसपछि गौशाला प्रहरीलाई अनुरोध गरेर उहाँको शव टिचिंग अस्पताल लगेर राखियोे । यसबीच राम सरको घर परिवारको खोजीका लागि आफ्ना संजालमार्फत गौशाला प्रहरी, मालिगाउँ प्रहरी जुट्यो ।

महासंघलाई पनि अभिभावक विहीन राख्न नसकिने भएको हुनाले कार्यसमितिको आकस्मिक बैठक बसेर जेष्ठता र श्रेष्ठताको आधारमा साथीहरू मलाई कार्यबाहक अध्यक्षको रूपमा राख्ने निर्णय गरे । त्यस कुराको अनुमोदन पछिल्लो बैठकले गरेपछि महासंघका गतिविधिलाई नयाँ ढंगले अघि बढाउँदै विगतमा देखिएका त्रुटीहरू पनि सच्याउँदै अघि बढाउने पहल प्रारम्भ गरेँ ।

राम सर बितेको लामोस समयसम्म आफन्त फेला नपर्दा नेपाल पूर्वप्रहरी संगठन धापासी पुग्यौं । त्यहाँ राम सरको बारेमा वस्तुगत अवस्था बताएर खोजखबरका लागि तदारूकता देखाउन अनुरोध गरियो । यसरी महासंघको सक्रियतामा सबैसँग समन्वय गरेर खोजी गरेको ३५ दिन बितिसक्दा पनि सम्बन्धित घरपरिवार फेला पार्न नसक्ता चिन्ता बढ्नु स्वाभाभिक थियो ।

सरोकारवालाको सम्पूर्ण कागजात प्रमाणहरू हुँदाहुँदै पनि घरपरिवार फेला नपर्नु रहस्यमय लाग्यो । हाम्रा राम सर नेपालका होइनन् कि भन्ने पनि लाग्यो । उनी दार्जिलिङ या कालिङपोङ्गतिरको भएकोले सम्पर्क पुग्न नसकेको हो कि भन्ने अनेक तर्क बितर्कहरू पनि मनमा उब्जिए । पछि फेरि प्रहरीमा जागिर सकेर पेन्सन खाने गरेको रहस्य खुल्यो । प्रहरी परिवारको खोजी प्रहरी विभागबाट भइरहे पनि समय बित्दैगर्दा महासंघलाई शोक र चिन्ता लम्बिएको महसुस भयो । तर यसैबीच साथीभाइको मद्दतबाट इटहरी–२० स्थित तरहरा बुद्धचौकमा उहाँको घर भएको पत्ता लाग्यो र परिवारसम्म पुग्न सफल भयौं ।

उहाँको परिवारलाई देखेर हामी छक्क पर्यौं । उहाँको श्रीमती र दुई छोराहरू रहेछन् र नातिनातिनाहरू त कलेज पढ्ने भइसकेका रहेछन् । उहाँहरूले घटना थाहा पाएपछि परिवारजनबाट टिचिङ अस्पताल, गौशाला र मालिगाउँ प्रहरी, कालोपुलस्थित निवास, महासंघको कार्यालय बागबजार र जिलेट कालेज, कालिमाटी आदि सरोकारका स्थलहरूमा पुगेर वस्तुगत अवस्थाहरू बुझ्ने काम भयो ।

४ः दाहसंस्कार : घर परिवार छोडेको दुई दशकको अवधिमा भेट नभए पनि मृत्युुपछि उहाँकी श्रीमती, छोरा, भाइ सालो तथा आफन्तजनले मृतक राम सरको मुख हेर्न र दागबत्ती दिन पाउने अवसर जुर्यो /जुराइयो । यसरी पौष ५ गते ४७औं दिनका दिन राम सरको पार्थिव शरीर टिचिङ हस्पिटलबाट जोरपाटीको जम्बू डाँडामा दाहसंस्कारको लागि पुर्याइयो । उपस्थित महानुभावबाट अन्तिम श्रद्धाञ्जली दिएपछि जातीय परम्परा अनुसार छोरा र लामा गुरूहरूद्वारा दागबत्ती दिइयो ।

५ः रहस्यमयी राम : हाम्रा अध्यक्ष स्वर्गीय रामबहादुर तामाङको बाचुन्जेलसम्म बाहिरी आवरणमा देखिने राम र मृत्युपश्चात रहस्यले उदघाटन गरेको राम निश्चय पनि भिन्न देखिन्थ्यो । २०६० सालको तिहारको भोलिपल्ट जापान जान तरहराको घर छोडेर काठमाडौंतिर हिँडेका रामको राम कहानी अति गोप्य तथा रहस्यमयी देखियो । काठमाडौको दुई दशकको बसाइँमा आफ्ना सहकर्मी, साथीभाइ कसैलाई क्षेत्रपाटीको घर थाहा नदिनु, प्रहरी विभागमा जागिर गरेर पेन्सन खाँदै गरेको कुरा लुकाउनु, आफ्नो घर परिवारका बारेमा सबै कुरा गोप्य राख्नु, आफ्नो संघ र महासंघका विषयवस्तु र व्यवहार दुरूस्त नराखी गुमराहमा पार्नु, अन्य बाहिरी हरहिसाब तथा व्यवहार प्रष्ट नराख्नु आदि उहाँका सीमाका रूमा देखिए, जसको कारण घर परिवारले मात्र होइन, संघ–महासंघले पनि अनावश्यक झमेला ब्यहोर्नु पर्ने अवस्था आयो । यसले व्यक्रिगत रूपमा उहाँ स्वयमलाई, परिवारलाई र आफू आबद्ध रहेका संघसंस्थालाई पनि क्षति पुग्न गयो ।

६ः अन्तिम ईच्छाहरू : स्वर्गीय रामबहादुर तामाङले आफ्ना साथीभाइहरू माझ बेलाबखतमा भन्ने गर्नुहुन्थ्यो– ‘मेरो भन्नु कोही छैन । मेरो श्रीसम्पत्ति भन्नु यही संंघ–महासंघ नै मेरो परिवार हो । तपाईं हामी मिलेर कतै एउटा बृद्धाश्रम निर्माण गर्नुपर्छ । त्यसमा मजदुरका आमाबुवा राखेर सेवा गर्नुपर्छ । सबै साथीभाइको सहयोगमा यो सपनालाई साकार पार्नु पर्छ ।’

अफिस कोठामा बितेका साथीहरूको फोटो देखाए भन्नुहुन्थ्यो– ‘अब यसपछि बित्ने साथीहरूको फोटो महासंघमा सजाएर राख्नुपर्छ । केहीगरी म बितिहालेको खण्डमा मलाई पशुपति आर्यघाटमा लानू । महासंघले मजदुर र नारी दिवस अनिवार्य रूपमा मनाउनु अनि त्यसैगरी दशैं तिहारमा मिलेर रमाइलो गर्नू–गराउनू । यस महासंघलाई बलियो पाररे श्रमजीवी वर्गको हक अधिकारलाई अगाडि बढाउनू । यसै किसिमले श्रमिक टुडे पत्रिका पनि नियमित प्रकाश गर्नू’ आदि ।

अब उहाँ यस संसारमा रहनु भएन तर उहाँका अधुरा सपनाहरू चुनौतीका रूपमा उभिएका छन् । यस्ता बिषयहरूमा उहाँको जहान परिवारजनबाट प्रष्ट धारण आउन बाँकी छ । अहिले उहाँहरू काठमाडौमा छरिएका नगद जिन्सी सामानको खोज तलासमा ब्यस्त हुनुहुन्छ । वर्तमान परिवेश बदलिएको छ । राम सरका सपनाहरूलाई लिएर महासंघ परिवार पनि चिन्तित छ ।

राम सरको आन्तरिक या पारिवारिक अवस्था जे जस्तो भएपनि उहाँले श्रमजीवी वर्गको हित र अधिकारका क्षेत्रमा जे जति योगदान पुर्यायन सक्नुभयो, त्यसलाई कम आँक्न मिल्दैन । उहाँले आरम्भदेखि आखिरी दिनसम्म सदैब मजदुर, गरिब, असहाय तथा उत्पीडित वर्ग र समुदायको हक अधिकारको ग्यारेन्टीको लागि निरन्तर आवाज उठाउँदै आउनु भयो । आफ्ना व्यक्तिगत खुसीलाई थाती राखेर घरपरिवारको मायामोहलाई समेत तिलाञ्जली दिएर श्रमिक वर्गको पक्षमा उहाँले जति योगदान गर्न सक्नुभयो, त्यो जो कोहीका लागि पनि प्रेरणाको आधार थियो । यसरी वर्गीय हितमा आफूलाई समर्पित गर्ने व्यक्ति समाजमा कमै हुन्छन् । राम दाइ अर्थात् हाम्रा प्रेरणाका स्रोत रामबहादुर तामाङको स्मरणमा केही शब्द लेख्दै गर्दा म उहाँको योगदानप्रति नतमस्तक भएको छु । उहाँले गरेको त्याग र योगदानप्रति उच्च सम्मान प्रकट गर्दै उहाँले मार्ग निर्देश गरेका कुराहरू पालना गरेर महासंघलाई थप ऊर्जाशील र गतिशील बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।

सम्बन्धित समाचार