एलपी पौड्याल
काठमाडौं, २० पुस ।
प्रचण्ड अर्थात् पुष्पकमल दाहाल नेपालका ४४औं प्रधानमन्त्रीका रूपमा सत्ताको बागडोर सँभाल्न पुगेका छन् । एमालेको बलियो साथ र समर्थनमा उनी तेस्रोपल्ट प्रधानमन्त्री हुने सौभाग्य पाएका हुन् । उनको यो कार्यकाल रहर पूरा गर्ने अवसर मात्र बन्नुहुन्न । पुनः प्रधानमन्त्री बन्ने अवसर प्राप्त होला वा नहोला, यो कार्यकाल उनको जीवनको महत्वपूर्ण र ऐतिहासिक कार्यकाल बन्नुपर्छ । उनका मतदाताहरूको मात्र होइन, आम नेपालीको अपेक्षा पनि यही हो ।
प्रचण्डको व्यक्तित्व विवादरहित छैन । उनको विगत पनि सङ्लो छैन । उनको किचन क्याबिनेट पनि गतिलोे छैन । अझ महत्वपूर्ण कुरा– उनी प्रधानमन्त्री बन्दैगर्दा टेकेको आधार पनि भरपर्दो र विश्वासिलो छैन । यस पृष्ठभूमिमा उनलाई राष्ट्रिय महत्वका काम गर्न त्यति सजिलो छैन । तर यी तथ्यहरूबाट उनी अनभिज्ञ पनि छैनन् । नेतृत्वको पहिचान भनेकै असजिलो र असहज परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुमा हुन्छ । अतः यसपटक कुनै बाहना गरेर जनतालाई निराश बनाउने छुट प्रधानमन्त्री प्रचण्डलाई छैन ।
प्रचण्ड नेपाली राजनीतिका चतुर खेलाडी मानिन्छन् । उनको चतुर्याइँ प्रधानमन्त्री बन्न मात्र सीमित भयो भने त्यसले तात्विक अर्थ राख्दैन । मुलुकले कुनै राजनैतिक व्यक्तित्वको स्मरण को कति पटक प्रधानमन्त्री भयो भनेर भन्दा पनि निजले देश र जनताका पक्षमा के कति योगदान गर्न सक्यो भन्ने आधारमा गर्ने गर्दछ । प्रचण्डको दुई कार्यकाल सिंहदरवारमा फोटो राख्नमा मात्र सीमित भएकोले यस कार्यकाललाई अविस्मरणीय बनाउन उनले देश र जनताका पक्षमा उल्लेखनीय काम नगरी धरै छैन । १० वर्षे जनयुद्ध निरर्थक थिएन भन्नका लागि पनि उनले देश र जनताका पक्षमा देखिने गरी, इतिहास रच्ने गरी र आगामी प्रधानमन्त्रीका लागि नजिर बन्ने गरी काम गर्नु पर्छ ।
प्रचण्डले पुस १९ गते प्रस्तुत गरेको ३० बुँदे निर्देशन आशाको एउटा किरण हो । उनले जुन उत्साहका साथ निर्देशन जारी गरेका छन्, त्यही उत्साहका साथ क्रियान्वयन गराउन सके भने यसले उनको कद बढाउने छ । उनले आफ्नो यस अढाई वर्षे कार्यकालमा कुनै विवादास्पद र जनभावना विरोधी कार्य गरेनन् भने उनको तेस्रो कार्यकाल सार्थक भएको मानिनेछ । त्यसैले प्रचण्डका लागि यो कार्यकाल चुनौती र अवसर दुबै हो ।
गठबन्धनको प्रचण्ड सरकारमा सात दलहरू छन् । सातै पृष्ठभूमि बोकेका दलहरूको आशा र अपेक्षालाई सम्बोधन हुने गरी न्युनतम् साझा कार्यक्रम ल्याउन प्रचण्डलाई सजिलो छैन । पुस २६ गते विश्वासको मत लिएलगत्तै सरकारले न्युनतम साझा कार्यक्रम ल्याउने तयारी गर्दै छ । समस्या नै समस्याको चाङ रहेको मुलुकमा सात दलको जगमा उभिएको सरकारलाई सन्तुलित कार्यक्रम ल्याउन पनि फलामको चिउरा चपाउनु सरह हुनेछ । एमालेले लगाएको गुन तिर्न पनि न्युनतम् साझा कार्यक्रममा एमालेका धेरै एजेण्डाहरू समावेश हुने छन् तर यसो भएमा प्रचण्डमाथि ओलीको छाया परेको आरोप लाग्ने छ । यसले अरू दलहरूमा खटपटी ल्याउने खतरालाई पनि बढाउने छ ।
यस सरकारको राम्रो पक्ष भनेको सरकारमा सम्भावना बोकेका र ऊर्जाशील केही युवाहरूको उपस्थिति रहनु हो । देशले धेरै अपेक्षा गरेको युवाहरूले सरकारमा रहेर राम्ररी काम गर्न पाए भने केही परिवर्तन गर्न सक्तारहेछन् भन्ने कुरालाई रवि लामिछानेले देखाइसकेका छन् । त्यसैले पनि रवि लामिछानेहरूलाई हतोत्साहित गरिनु हुन्न । राम्रो काम जसले गरे पनि नाम त आखिर प्रधानमन्त्रीकै आउने हो ।