नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ पुस ।
दार्चुलाको व्यास गाउँपालिका-४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर एक बालक बेपत्ता भएका छन् । नेपालको ब्यासबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नम्बर ४ डोकटका १० वर्षीय बालक दीपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएको स्थानीय दीपक खातीले जानकारी दिए ।
बेपत्ता दीपेन्द्र बिहीबार २१ गते दिउँसो २ बजे भारततिर खर काट्न गएकी आमाको पछिपछि गएका थिए । व्यास क्षेत्रमा सञ्चार सुविधा नभएका कारण घटनाबारे शनिबार मात्र जानकारी भएको व्यास गाउँपालिकाका प्रवक्ता नरेन्द्र भट्टले बताए । उनका अनुसार बेपत्ता दीपेन्द्र ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत छन् ।
डोकडका स्थानीयवासी खर काट्न भारततिर जाने चलन रहेको र सय मिटरमाथि झोलुङ्गे पुल भए पनि सजिलोका लागि स्थानीयवासीले त्यस क्षेत्रमा तुइन हाल्ने गरेका छन् । तुइन काट्ने डरले स्थानीयवासीले घटना बाहिर नल्याएको हुनसक्ने स्थानीय दीपक खातीले बताए ।