नारायणी नदीमा आजदेखि ‘क्रुजसिप’ सञ्चालनमा

नारायणी नदीमा आजदेखि ‘क्रुजसिप’ सञ्चालनमा आउँदै छ । राइनो वाटर इन्टरटेन्मेन्ट कम्पनीले क्रुजसिप सञ्चालनमा आउने जनाएको हो ।

यहाँ दुई वर्ष पहिले नै क्रुजसिपको परीक्षण गरिएको थियो । कोभिड माहामारी र केही नीतिगत व्यवधानका कारण क्रुजसिप सञ्चालनमा ल्याउन नसकिएको कम्पनीले जनाएको छ ।



कम्पनीका कार्यकारी निर्देशक दीपक ढुंगेलका अनुसार सबै प्रक्रिया पूरा गरेर क्रुजसिप सञ्चालन गर्न लागिएको हो । उनका अनुसार आज दिउँसो १ बजे विशेष क्रुजिङको समय हुनेछ । तीन तलाको क्रुजसिपमा कुल १८० जना सवार गर्न सक्नेछन् ।

क्रुजसिपमा यात्रा गर्ने यात्रुहरूको रू. १० लाख बराबरको बीमा गरिएको छ । क्रुजसिपमा यात्रा गर्न टिकट रू. ७००, ब्रेकफास्ट क्रुजिङको रू. १ हजार ५०० सय, लञ्च क्रुजिङ रू. २ हजार र डिनर क्रुजिङ २ हजार ५०० तेकिएको ढुंगेलले जानकारी दिए ।

भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वनस्थित काभ्रेघाटमा क्रुजसिपको स्टेसन छ । एकपटकमा यात्रुले करीब एक घण्टा नारायणी नदीमा क्रुजको मज्जा लिन पाउनेछन् । क्रुजसिपमा विवाह, ब्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठलगायत गतिविधि गर्न पाइने कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले बताए ।

क्रुजसिप निर्माणमा रू. १५ करोडभन्दा बढी खर्च भएको कँडेलले जानकारी दिए । उनका अनुसार क्रुज सञ्चालनका लागि ४० किलोमिटरसम्मको अनुमति लिइएको छ । रुट पहिचान गरेर सोहीअनुसार यात्रा गराइने उनले जानकारी दिए । क्रुजसिपभित्र रेष्टुराँ, कार्यक्रमका लागि स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्ट पनि निर्माण गरिएको छ । रासस

सम्बन्धित समाचार