प्रकाश पौड्याल
काठमाडौं, २ माघ ।
निर्वाचनमा नेपाली जनताले नेपाली काङ्ग्रेस पार्टीलाई पहिलो पार्टी बनाइदिए । पहिलो पार्टी भएका नाताले काङ्ग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउनु पर्ने हो तर पछिल्लो समयमा विकसित हुँदै गरेको राजनीतिको गलत विश्लेषण हुँदा नेपाली काङ्ग्रेस उत्तानो परेर लड्न पुग्यो ।
अन्ततः दोस्रो दल बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कूटनीतिक पहलले तेस्रो दल बनेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशका ४४औं प्रधानमन्त्री बन्न सफल भए । दोस्रो र तेस्रो दललगायत अन्य दलहरू मिलाएर बनेको नयाँ गठबन्धनले प्रचण्डको नेतृत्वमा नयाँँ सरकार निर्माण गर्न सफल भएपछि काङ्ग्रेस नेतृत्वले पार्टीभित्र आत्मालोचना गर्दै सशक्त प्रतिपक्षमा बस्ने निर्णय गर्न सक्नुपथ्र्यो तर काङ्ग्रेस फेरि चुक्यो । र, आफ्नो गठबन्धन तोडेर एमालेको शरणमा गई प्रधानमन्त्री बनेका प्रचण्डलाई विश्वासको मत दिएर काङ्ग्रेसले ऐतिहासिक भूल गर्यो ।
श्याल र साँडेको कथाजस्तै झर्ला र आउँला भनेर च्याँखे दाउ थाप्न काङ्ग्रेसलाई शोभा नदिनुपर्ने हो तर ओली र प्रचण्डबीच अविश्वास पैदा गराएर पुनः देउवालाई प्रधानमन्त्री बन्ने स्थिति सिर्जना गरी स्वार्थको रोटी सेक्न लोभिएको वर्गले अहिलेको काङ्ग्रेसको निर्णयलाई रणनीतिक वा चलाखीपूर्ण मान्दै प्रतिरक्षा गरिरहेको भए पनि काङ्ग्रेसले गरेको यो एउटा ऐतिहासिक भूल नै हो । आफ्ना पोल्टामा आएको सम्पूर्ण राजकीय अधिकार ओलीको तजबिजमा पुगिसकेपछि काङ्ग्रेस नेतृत्वले गुन्द्रुकमा जात नफाल्नु पर्ने हो तर स्वार्थसमूहको घेराबन्दीमा परेर देउवाले पार्टीलाई अविवेकी निर्णय गर्न बाध्य गराए ।
राजनीतिमा आफूमात्र चलाख र उपल्लो दर्जाको नेता देख्ने देउवाले चुनावपछिको अवस्था तथा गठबन्धन गर्दाका बेला प्रचण्डलाई दिएको वचनलाई सही विश्लेषण गर्न नसक्ता ‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी’ भएको हो । तर नेतृत्वमाथि औंला उठ्ला भनेर पोल्टामा आइसकेको यत्रो राजकीय अवसर कसरी गुम्न पुग्यो भनेर पार्टीभित्र निर्मम समीक्षा नै भएन ।
सत्ताविमुख हुनुको पीडा काङ्ग्रेसलाई वा देउवालाईभन्दा बुढानिलकण्ठ दरवारलाई तीर्थस्थल बनाएर अर्चना गर्नेहरूलाई बढी भयो । अनि, नेतृत्वको कमी कमजोरी केलाउनभन्दा उनीहरू नयाँ गठबन्धनमा कुनै छिद्र खोजेर सत्ताको रसपान गर्ने दाउ हेर्न थाले । र, अन्ततः नयाँ गठबन्धन बनाएर प्रधानमन्त्री बनेका प्रचण्डलाई विश्वासको मत दिन देउवालाई सहमत गराए । देउवालाई पनि आफ्ना ज्यातिषीको इज्जत राखिदिन सकिन्छ कि भन्ने लाग्यो होला र काङ्ग्रेसको इतिहास र भविष्यलाई दाउमा राखेर भक्तहरूको प्रार्थना स्वीकार गरिदिए ।
बदलिएको परिस्थितिमा काङ्ग्रेसभित्रका केही युवा नेताहरूले ‘काङ्ग्रेस प्रतिपक्षमा बस्छ’ भनेर सार्वजनिक अभिव्यक्ति दिएको भए पनि पार्टीको बैठकमा उनीहरूको आवाज बुलन्द बन्न सकेन । इतिहासले मात्र थेगेका तर वर्तमान अवस्थामा शारीरिक, मानसिक र प्राज्ञिक रूपमा असक्त भइसकेका र कुनै अमूक पदको आशाले मात्र प्राण धानेकाहरूको लालचीपनले नेपाली काङ्ग्रेसको डुङ्गा डुब्न लागेको प्रतीत हुन्छ । ऐतिहासिक ओज धान्न नसकेर नेपाली काङ्ग्रेसको डुङ्गा डुब्ने स्थिति आयो भने देउवामात्र डुब्नेछैनन्, एउटै डुङ्गामा रहेका शेखर, गगन, विश्वप्रकाश, धनराज र प्रदीपहरू पनि सँगै डुब्नेछन् । डुब्दै गरेको डुङ्गालाई पार्टी बैठकमा कसै–कसैले लेखेको नोट अफ डिसेन्टको मन्त्रले मात्र बचाउन सक्नेछैन ।