नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ माघ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमामा आंशिक बदली रहेको छ । तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ र बाँकी भू-भाग सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बुधबार) देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशको सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपात तथा तराईका भू-भागहरूमा विहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।