जीवन !

सास र आश हो जीवन
विश्वास र भरोसा हो जीवन
मीठो अनि अनौठो चिज हो जीवन !

समय र संघर्षको कथा र व्यथा हो जीवन
सुख हो, दुःख हो अनि हाँसो र रोदन हो जीवन
न्यानो पारिलो घाम र शिशिरको चिसो सिरेटो हो जीवन
हार हो, जित हो अनि बचेखुचेको उपलब्धि हो जीवन !



एक अविरल यात्रा हो जीवन
कहीँ कतै अल्झिदिने ठहराब हो जीवन
प्रेमको प्रेमिल नदी अनि बिछोडको भव–सागर हो जीवन
माया हो, करुणा हो, निष्ठुर र निर्दयी व्यथा हो जीवन !

एक अलिखित कथा कविता जस्तो शून्यताको सार हो जीवन
माया मोहको दहमा डुबिरहेको भ्रमको रहस्यमयी खेल हो जीवन
हजारौं प्रिय र सप्तरङ्गी सपनाहरूमा सजिएको मिठो ऊर्जा हो जीवन
कहिले भरीभरी भए जस्तो भ्रम त कहिले शून्यको अनुभूति हो जीवन !

अलिकति ज्ञान तर बढी अनिश्चित अन्धकारमय रहस्य हो जीवन
रिस–राग, ईष्र्या–डाह अनि माया–मोहको भयावह भ्रम हो जीवन
शुख–शान्ति र हाँसो–खुसीको खोजीमा भौतारिएको भेल हो जीवन
भित्री आँखा खोल्न सक्दा त्याग, प्रेम, करुणा र आनन्दको श्रोत हो जीवन !

आधा उमेर उकाली हो र बाँकी आधा ओराली हो जीवन
कहीँ कतै भन्ज्याङ अनि देउरालीमा हालेको सुसेली हो जीवन
हिमाली हिउँ पहाडी पसिना र तराईको घना जङ्गल हो जीवन
धुले–पाटीमा कखरा सिकेको पुरानो युगको कथा हो जीवन !!

हालः भर्जिनिया, संयुक्त राज्य अमेरिका ।

सम्बन्धित समाचार