बार्सिलोना र रियल मड्रिड क्वाटरफाइनलमा

स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा बार्सिलोना र रियल मड्रिड प्रवेश गरेका छन् । बिहीबार राति भएको खेलमा बार्सिलोनाले एडी सेउटालाई ५-० ले र मड्रिडले भिल्ला रियललाई ३-२ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।

बार्सिलोनाको जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे भने राफिन्हा, अन्सु फाती र फ्रान्क केस्सीले समान १-१ गोल गरे । एकतर्फी बनेको खेलमा खेलको ४१ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा बार्सिलोनाले थप ४ गोल गर्यो ।



बार्सिलोना

खेलको ५० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यस्तै खेलको ७० औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर बनाए । यस्तै खेलको ७७ औं मिनेटमा फ्रान्क केस्सीको गोल मार्फत बार्सिलोना ४-० ले अघि रह्यो । त्यसपछि व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ९० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई ५-० को शानदार जित दिलाए ।

त्यसैगरी भिल्ला रियललाई ३-२ ले पराजित गर्दै रियल मड्रिड पनि स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रियलले दुई गोलको अग्रता उल्टाएर जित निकालेको हो । खेलको चौंथो मिनेटमा इटिने कपौएले गोल गर्दै भिल्ला रियललाई अग्रता दिलाएका थिए ।
यस्तै खेलको ४२ औं मिनेटमा सामुएल चुक्वेजेले गोल गर्दै भिल्ला रियलको अग्रता दोब्बर बनाए ।

रियल मड्रिड

पहिलो हाफ २-० मा सकिएको खेलमा खेलको ५७ औं मिनेटमा रियल मड्रिडका भिनिसियस जुनियरले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । त्यस्तै ६९ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८६ औं मिनेटमा डानी सेबालोसले गोल गर्दै रियललाई ३-२ को जित दिलाए ।

सम्बन्धित समाचार