नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ माघ ।
हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली, मधेश प्रदेश र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रहेको छ भने देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शनिबार) देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र तराईका धेरै भू-भागहरूमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।