प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि सुदुरपश्चिम प्रदेशलाई

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सुदुरपश्चिम प्रदेशले जितेको छ । शनिबार भएको फाइनलमा प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै सुदुरपश्चिमले उपाधि जितेको हो ।

इटहरीको जनता क्रिकेट पार्क क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । प्रदेश १ का लागि काजल श्रेष्ठले अविजित रहँदै ४८ रन जोडिन् भने अप्सरी बेगमले १५ रन बनाइन् भने कप्तान रुबिना क्षेत्रीले १४ रन जोडिन् । सुदुरपश्चिम प्रदेशकी मनिषा चौधरीले २ विकेट लिइन् भने ऋतु कोनुजियाको भागमा १ विकेट रह्यो ।



१०२ रनको लक्ष्य लिएर मैदान उत्रेको सुदुरपश्चिम प्रदेशले १९ ओभर ५ बलमा पूरा गर्यो । सुदुरपश्चिम प्रदेशका लागि सम्झना खड्काले अविजित रहँदै २७ रन बनाइन् भने डोली भट्टले २२ रन जोडिन् । त्यस्तै कविता जोशी १९ रनमा अविजित रहँदा कविता कुँवरले १२ रन बनाइन् ।

प्रदेश-१ का लागि सबनम राई, संगीता राई, रुबिना क्षेत्री र हिरान्मायी रोयले समान १-१ विकेट लिए । उपाधिसँगै सुदुरले ५ लाख र उपविजेता प्रदेश-१ ले ३ लाख रुपैयाँ प्राप्त गरेका छन् । नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार