नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ माघ ।
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औँ वर्ष शुरु हुन्छ ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि गोरू वर्षलाई विदाइ गर्दै बाघ वर्षलाई स्वागत गरिँदैछ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।
मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।ल्होसारका १२ वटै वर्ग पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पा बताउँछन् । वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रीय प्रणालीअनुसार गणना गरिने प्राचीन पद्धति हो ।
तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । यस पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।