नवकान्तिपुर संवाददाता
काठमाडौं, १० माघ ।
सुनको मूल्यले फेरि रेकर्ड कायम गरेको छ । मंगलबार एकै दिन तोलामा एक हजार रुपैयाँ वृद्धि भइ अहिलेसम्मकै सर्वाधिक मूल्य पुगेको छ । मंगलबार एकैदिन सुनको भाउ प्रतितोला एक हजार बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि २०७८ फागुन २५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो । उक्त समयमा सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ६ हजार ३०० रहेकोमा सोमबार रु १ लाख ५ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ५ हजार ८०० रहेकामा सोमबार प्रतितोला रु १ लाख ४ हजार ८०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने सोमबारको तुलनामा १५ रुपैयाँ घट्दै एक हजार ३६५ मा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ३८० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।