नवकान्तिपुर संवाददाता
काठमाडौं, १० माघ ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा १२ जना फेला परेका छन् । नवलपरासी, कावासोती नगरपालिका-१७ अमलटारीस्थित नारायणी नदीको भंगालोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै धनुषा, जनकपुर उपमहानगरपालिका-६ स्थित गिरनारी कुट्टीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यता मकवानपुर, कैलाश गाउँपालिका-६ पकने मराङसिङस्थित बारीमा धादिङ गजुरी गाउँपालिका-४ भुमिढुङ्गा बस्ने २२ वर्षीय शंकर तामाङ सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-१ सालघारी वनमा सोही गाउँपालिका कात्तिके बस्ने ६४ वर्षीय इक बहादुर खड्का चोट लागि मृत्यु भएको अवस्थामा सोमबार फेला परेका छन् । यसैगरी काठमाडौं महानगरपालिका-३१ शान्तिनगर ओम शान्ति चोक डेरा गरी बस्ने स्याङ्जा गल्याङ नगरपालिका-१० घर भएका ५५ वर्षीय शिवलाल भट्टराई आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यता बारा, कलैया उपमहानगरपालिका-४ कलैया डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१ पर्सा टोल घर भएकी २८ वर्षीया आशा देवी आफ्नै घरको भर्याङमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै पाँचथर, मिक्लाजुङ गाउँपालिका-७ लुमाङदिन बस्ने ७० वर्षीय नरलाल माखिम सोही ठाउँस्थित गोरेटो बाटोमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी सर्लाही, लालबन्दी नगरपालिका-१ गोरु बजारस्थित राम जानकी मन्दिर पछाडि चन्द्रनगर गाउँपालिका घर भएका ६० वर्षीय देव नारायण महरा सोमबार मृत अवस्थामा फेला परेका छन् । उता भक्तपुर, चागुँनारायण नगरपालिका-३ झौखेल जागृती टोल बस्ने ५० वर्षीय मोहन गेलाल आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै जुम्ला, पातारासी गाउँपालिका-४ विउरेनीस्थित सहकारी साना जलबिद्युत आयोजनाको नालीमा सोही गाउँपालिका-६ बाता बस्ने ३५ वर्षीय जोरसिंह बुढा सोमबार मृत अवस्थामा फेला परेका छन् । यता झापा, भद्रपुर नगरपालिका-७ बस्ने ७२ वर्षीय एतबारे किस्कु घर नजिकैको बोक्तोबारी चौकस्थित नालीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी बर्दिया, ठाकुरबाबा नगरपालिका-१ भुरिगाउँ बस्ने ४९ वर्षीय राम बहादुर थारु सोही ठाउँस्थित बबई नदीको पानी सतघरुवातर्फ जाने कुलोमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।