नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ माघ ।
धनुषाको हिरासत फोडेर आधा दर्जन थुनुवा फरार भएका छन् । धनुषा क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत फोडेर आधा दर्जन थुनुवा फरार भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हिरासतमा रहेका सात जनामध्ये छ जना गएराति फरार भएका हुन् । फरार हुनेहरुमा रोशन महतो, शङ्कर महतो, विनोदकुमार महतो, अनित मण्डल, रोशन यादव र हरि घिसिङ रहेका छन् । फरार भएका मध्ये विनोद र अनित लागू औषध, रोशन र हरि अभद्र व्यवहार तथा रोशन र शङ्कर अवैध हातहतियार मुद्दाका आरोपित रहेका छन् ।
हिरासतमा एकजना सवारी दुर्घटनाको मुद्दाका थुनुवा मात्र बाँकी छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले राती २ देखि ४ बजेको बिचमा थुनुवा कक्षको दक्षिणी भागको भित्ता भत्काएर उनीहरू फरार भएको हुनसक्ने जानकारी दिए । उनीहरुको खोजी कार्य जारी रहेको क्षेत्रीले बताए ।