नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ माघ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ । १ सय ८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणा मापन गरेर ट्रान्सपरेन्सीले सूचकाङ्क सार्वजनिक गरेको हो ।
सूचकाङ्कमा समावेश १ सय ८० देशमध्ये डेनमार्क ९० अंक प्राप्त गरी सबै भन्दा कम भ्रष्टाचार हुने मुलुक भएको छ भने नेपाल जम्मा ३४ अङ्क पाएर भ्रष्टाचार हुने मुलुकको ११० औँ स्थानमा परेको छ । अघिल्लो वर्ष नेपालको स्थान ११७ औँ स्थानमा रहेको थियो ।
नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको देखाएको ट्रान्सपरेन्सीले जनाएको छ । राज्यका प्रमुख अंगहरुमा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोग बढेकाले भ्रष्टाचार बढेको ट्रान्सपरेन्सीको निस्कर्ष छ ।