नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ माघ ।
नेपालमा आज (बुधबार) सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ६ हजार ३०० रहेकोमा मंगलबार रु १ लाख ५ हजार ८०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ५ हजार ८०० रहेकामा मंगलबार प्रतितोला रु १ लाख ५ हजार ३०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि मंगलबारको मूल्य भन्दा ५ रुपैयाँ बढ्दै एक हजार ३७० कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३६५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । सुनको मूल्यले गत बिहीबार रेकर्ड कायम गरेको थियो । स्थानीय बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ६ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ६ हजार ४०० मा कारोबार भएको थियो । यसअघि २०७८ फागुन २५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो । उक्त समयमा सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो ।