नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ माघ ।
सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । बिहीबार तोलामा १२ सय रुपैयाँ वृद्धि भइ अहिलेसम्मकै सर्वाधिक मूल्य पुगेको छ । यसअघि माघ १२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार ९०० रुपैयाँ पुगेको थियो ।
स्थानीय बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ७ हजार ५०० रहेकोमा बुधबार रु १ लाख ६ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ७ हजार रहेकामा बुधबार प्रतितोला रु १ लाख ५ हजार ८०० मा कारोबार भएकोे थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि बुधबारको मूल्य भन्दा २५ रुपैयाँ बढ्दै एक हजार ३९५ मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ३७० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
यस अघि सुनको मूल्यले गत बिहीबार रेकर्ड कायम गरेको थियो । स्थानीय बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ६ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ६ हजार ४०० मा कारोबार भएको थियो । यसअघि २०७८ फागुन २५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो । उक्त समयमा सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो ।