प्रचण्ड र ओलीले रास्वपासँग दुई दिनको समय मागेपछि…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयको सम्बन्धमा निर्णय गर्न दुई दिनको समय दिएको छ । बिहीबार साँझ बसुन्धरास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले गृह मन्त्रालय रास्वपालाई नै दिने वा नदिने भन्नेबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई दुई दिनको समय दिने निर्णय गरिएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।



‘आजको बैठक बस्नुभन्दा पहिला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुई दिनको समय दिन अनुरोध गर्नुभएको थियो, सोही अनुरुप राजनीतिक इमान्दारिताको निम्ति बैठक दुई दिन सारिएको छ’ प्रवक्ता ढकालले भने ।

सर्वोच्च अदालतले माघ १३ गते उपप्रधान एवं गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछि मन्त्री तथा सांसद र पार्टी सभापति पद गुमेको थियो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधान तथा गृहमन्त्री बनेका थिए । यही माघ १५ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट कानुन बमोजिम सभापति लामिछानेले पुनःनागरिकता लिइ सकेका छन् ।

रास्वपाबाट हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्की छन् । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी कमिटीको बैठकले भने रास्वपाका सभापति लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म सो पार्टीले धैर्य गर्नुपर्ने जनाएको थियो ।

सम्बन्धित समाचार