नवकान्तिपुर संवाददाता
काठमाडौं, २० माघ ।
नेपालमा बिहीबार ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्य आज (शुक्रबार) भने १४ सय रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ६ हजार १०० रहेकोमा बिहीबार रु १ लाख ७ हजार ५०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ५ हजार ६०० रहेकामा बिहीबार प्रतितोला रु १ लाख ७ हजारमा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि बिहीबारको मूल्य भन्दा ३० रुपैयाँ घट्दै एक हजार ३६५ मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ३९५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । सुनको मूल्यले हिजो बिहीबार रेकर्ड कायम गरेको थियो । स्थानीय बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ७ हजारमा कारोबार भएको थियो । यसअघि माघ १२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार ९०० रुपैयाँ पुगेको थियो ।