नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ माघ ।
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ । आज (आइतबार) बिहान साढे ६ बजे९५ वर्षको उमेरमा उनको निधन भएको हो ।
काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निमोनियका कारण उनकोको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि अस्पताल भर्ना भएका थिए । उनी विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित थिए ।
उनी २०१३ साल वैशाख १० गते नेपालको पहिलो गभर्नर नियुक्त भएका थिए । हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत हुन् । पछिल्लो समय उनी नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक समितिका संस्थापकका रूपमा क्रियाशील थिए । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनका दुई छोरा र दुई छोरी छन् ।