नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ माघ ।
राष्ट्रियसभाको उपाध्यक्षमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी नेतृ उर्मिला अर्यालले उम्मेदवारी दर्ता गरेकी छिन् । आज (आइतबार) अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हल पुगेर अर्यालले उम्मेदवार दर्ता गराएकी हुन् ।
सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रकी अर्याललाई उम्मेदवार बनाएको हो । राष्ट्रिय सभामा उनी मधेस प्रदेशबाट सदस्य निर्वाचित भएकी हुन् । अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक रहेका छन् ।
राष्ट्रियसभाको उपाध्यक्षका लागि आज १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको थियो । निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता अनुसारको सूची आइतबार नै दिउँसो ४.१५ बजे प्रकाशित गरिने छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही माघ २३ गते सोमबार दिउँसो १२ बजे उपाध्यक्षको चयनका लागि मिति निर्धारण गरेका थिए । राष्ट्रियसभाको बैठकमा यही माघ २३ गते ‘उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी’ प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । समर्थकले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावमा संक्षिप्त छलफल हुने र दर्ता क्रमअनुसार निर्णायार्थ पेश गरिनेछ । तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि राष्ट्रियसभाको उपाध्यक्षको पद रिक्त छ ।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले यही माघ १३ गतेको बैठकमा उपाध्यक्षको निर्वाचनको मिति तोकेका थिए । मिति तोकेर सभाध्यक्षले निर्वाचनसम्बनधी कार्यक्रमको सूचना प्रकाशन गर्न सङ्घीय संसद्को महासचिवलाई निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार महासचिवले आइतबारका लागि उम्मेदवारी दर्ताको समय निर्धारण गरेका हुन् ।