प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (बुधबार) ओली निवास बालकोटमा उनीहरुबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्ड नेकपा एमालेका अध्यक्षओलीलाई भेट्न बालकोट पुगेका हुन् । भेटमा राष्ट्रपति निर्वाचन लगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ । त्यस्तै भेटवार्तामा उहाँहरु बीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको जनाइएको छ ।



‘उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्र्छौँ र राष्ट्रपतिको आगामी निर्वाचनका विषयमा भोलि छलफल गर्छौँ । सहमतिबाटै अगाडि बढ्ने प्रयास हुन्छ । सहज रूपमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्छौ’ बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले भने । एमालेले पुस १० को सहमति अनुसार राष्ट्रपति एमालेको हुने बताउँदै आएको छ भने प्रधानमन्त्री प्रचण्डले सकभर राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने बताउँदै आएका छन् ।

त्यस्तै भेटमा अध्यक्ष ओलीले पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पद पाउनुपर्ने बताएको ओलीको सचिवालयले जनाएको छ । सो अवसरमा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई एमालेले पार्टीभित्र छलफल गरेर राष्ट्रपति उम्मेदवारको नाम तय गर्ने बताएको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार