नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ माघ ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् । सल्यान, कालिमाटी गाउँपालिका-४ लामितारा बस्ने ६० वर्षीय छबिलाल तारामी मगर सोही ठाउँस्थित शारदा नदीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
गत माघ ८ गतेदेखि घरबाट हराएका उनको इलाका प्रहरी कार्यालय कालिमाटीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त नदीमा शव फेला पारेको हो । त्यस्तै संखुवासभा, भोटखोला गाउँपालिका-२ छुम्सुरस्थित निर्माणाधिन कोशी सडकमा सोही ठाउँमा काम गर्ने मकवानपुर बकैया गाउँपालिका-१ रजुवा बस्ने २२ वर्षीय प्रकाश गोले मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै मोरङ, विराटनगर महानगरपालिका-१७ गुद्रिस्थित सडक पेटिमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यता सिन्धुली, कमलामाई नगरपालिका-८ करकरेस्थित पुड्के दमार सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं महानगरपालिका-९ रातो पुलस्थित फुटसल नजिक हाल नाम, थर, वतन, नखुलेका करिब ५० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । उता गोरखा, गोरखा नगरपालिका-१२ रत्नेटार बस्ने ३० वर्षीया बिमला कुमाल सोही ठाउँस्थित केरा बारीमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
यता बारा, जितपुरसिमरा उपमहानगरपालिका-२ स्थित ओम गणपती ट्रेड्समा काम गर्ने भारत घर भएका ७५ वर्षीय सत्यनारायण शर्मा आफ्नै ओछ्यानमा गएराति मृत अवस्थामा फेला परेका छन् । त्यस्तै स्याङ्जा, कालीगण्डकी गाउँपालिका-७ मिर्मी ड्यामस्थित काली गण्डकी नदी किनारमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ५२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी रुपन्देही, बुटवल उपमहानगरपालिका-६ सब्जिमण्डी नजिकै नगरपालिकाको भवनको सटर नम्बर ५१० स्थित मासु पसलमा इटहरी घर भएका ३२ वर्षीय दिल बहादुर तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

