नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ माघ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरेको छ ।
गैरकानुनी रुपमा एक वायु सेवा कम्पनीसँग लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री पाइएपछि मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गर्दै उक्त निर्देशन दिएको हो ।
अनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएकाले जाँचबुझ गर्ने सिलसिलामा महाप्रबन्धक ठाकुरलाई निलम्बनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई पत्राचार गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता राजेन्द्रकुमार केसीले बताए ।
‘नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको हुँदा सो विषयमा जाँचबुझ गर्ने सिलसिलामा निजलाई पदबाट निलम्बन गर्न माननीय मन्त्री स्तरीय निर्णयअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई लेखी पठाइएको छ । साथै उक्त विषयमा थप अनुसन्धान गर्न श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुरोध गरी पठाइने निर्णय व्यहोरा जानकारीका लागि अनुरोध छ ’, मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
उक्त विषयमा थप अनुसन्धान गर्न मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत अनुरोध गरिएको प्रवक्ता केसीले जानकारी दिए । केही दिनपहिले मात्रै अख्तियारले विमानस्थलको आन्तरिकतर्फका प्रमुख पूर्ण चुडाललाई घुस बापतको रकमसहित पक्राउ गरेको थियो ।
विज्ञप्ति