नवकान्तिपुर संवाददाता
काठमाडौं, १ फागुन ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग अनुसार आज (सोमबार) देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राति प्रदेश नं. १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं. १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

