नवकान्तिपुर संवाददाता
काठमाडौं, १ फागुन ।
भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आउँदैछन् । आज (सोमबार) उनी नेपाल आइपुग्नुहुने नेपाल स्थित भारतीय दूतावासले जनाएको छ ।
परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले फागुन १ देखि २ गते (फेब्रुअरी १३ देखि १४ तारिख)सम्म नेपालको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा उनी हरुबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । यो भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउन अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।