नवकान्तिपुर संवाददाता
काठमाडौं, २ फागुन ।
नेपालमा आज (मंगलबार) सुनको मूल्य २०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार ८०० रहेकोमा सोमबार रु १ लाख ४ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार ३०० रहेकामा सोमबार प्रतितोला रु १ लाख ३ हजार ५०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहँदै सोमबारको मूल्य अनुसार नै कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार २९५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । सुनको मूल्यले गत बिहीबार रेकर्ड कायम गरेको थियो । स्थानीय बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ७ हजारमा कारोबार भएको थियो । यसअघि माघ १२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार ९०० रुपैयाँ पुगेको थियो ।