स्रोत नखुलेको रकम सहित ४ जना पक्राउ

देशका विभिन्न स्थानबाट स्रोत नखुलेको रकम सहित ४ जना पक्राउ परेका छन् । मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट स्रोत नखुलेको ३ लाख ५६ हजार २ सय १० रुपैयाँ सहित जहदा गाउँपालिका-१ बस्ने ३२ वर्षीय उदियानन्द सरबरीयालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । त्यस्तै पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ८ लाख २० हजार रूपैयाँसहित सोही महानगरपालिका ईनर्वागाउँ बस्ने २५ वर्षीय ओम कुमार साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।



वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको ना.३५ प ८४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहले लगाएको हेल्मेटभित्र लुकाई छिपाई ल्याएको उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

यस्तै मोरङ, रंगेली नगरपालिका-७ रंगेली बजारबाट स्रोत नखुलेको नगद ४ लाख १२ हजार ८ सय ५५ रूपैयाँसहित सोही नगरपालिका-४ चोप्राह बस्ने ४१ वर्षीय भवानी शंकर साहसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

साथै उनीहरूको साथबाट बैंकको चेक २ थान, विभिन्न बैंकमा पैसा जम्मा गरेका भौचरहरू, मोवाइल ३ थान र उनीहरू सवार को.३९ प १६९१ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार