नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ फागुन ।

बाँकेको नेपालगञ्जबाट करिब रु पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना छन् । उनीहरुको साथबाट प्रहरीले एक हजारका नक्कली नोट पाँच सय ६९ थान बरामद गरेको छ ।
उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

