प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र सभापति देउवाबीच भेटवार्ता भएको हो ।

भेटमा राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरुले भेटघाटलाई भने तीव्र बनाएका छन् ।



यसअघि प्रधानमन्त्रीलाई भेट्नु अघि सभापति देउवाले, नेकपा एकीकृत समाजवादी, लोसपा र जसपाका नेताहरुसँग भेट गरेका थिए । राष्ट्रपतिको निर्वाचनमा निर्णायक मत रहेको नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमति खोजिरहेको छ भने अन्य दलहरुले आ–आफ्नो पार्टीको दाबी रहेको बताउँदै आएका छन् ।

त्यस्तै बुधबार नै राष्ट्रपतिको विषयलाई लिएर प्रधानमन्त्री र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको थियो । निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपति पदको मनोनयन दर्ता र फागुन २५ मा राष्ट्रपतिको निर्वाचन गर्ने तालिका तय गरेको छ ।

 

सम्बन्धित समाचार