रामचन्द्र पौडेलले दिए राष्ट्रपतिमा उम्मेदवारी

नेपाली कांग्रेसका तर्फबाट यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । आज (शनिबार) नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दिएका हुन् ।

उनको उम्मेदवारी दर्ता गराउन प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभापति शेरबहादुर देउवालगायत नेताहरू नयाँ बानेश्वर पुगेका थिए । पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान छन् भने समर्थकमामहन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् ।



पौडेललाई नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन् । यसअघि एमालेको तर्फबाट पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुने निर्वाचनका लागि आज फागुन १३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको थियो । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तालिका रहेको थियो ।

 

सम्बन्धित समाचार